बार्सिलोना (स्पेन) — स्पेनको पर्यटकीय मुटु बार्सिलोनामा नेपाली कला, संस्कृति र पहिचानको सुगन्ध छरिने भएको छ । नेपाली जनप्रगतिशील मञ्च, स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिकाको विशेष सहकार्यमा आगामी अप्रिल २६ तारिख आइतबारका दिन “नमस्ते बार्सिलोना २०२६” नामक बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा आयोजित यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्नुका साथै नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने एउटा बलियो माध्यम बन्ने अपेक्षा गरिएको छ ।
यसपटकको कार्यक्रम बार्सिलोनाको मात्र नभई विश्वकै प्रसिद्ध पर्यटकीय स्थल सग्रडा फ्यामिलिया (Sagrada Familia Church) अगाडि रहेको खुला मैदानमा आयोजना गरिँदैछ ।
दैनिक हजारौँ अन्तर्राष्ट्रिय पर्यटकहरूको भिड लाग्ने यस ऐतिहासिक स्थानमा नेपाली पञ्चेबाजा, लोक धुन र मौलिक नृत्यहरू प्रस्तुत गर्दा नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकले लिएका छन् । विदेशी भूमिमा आफ्नो भाषा र पहिचान हराउँदै गएको चिन्ताका बीच आयोजना हुन लागेको यो कार्यक्रमले विशेषगरी नयाँ पुस्तालाई आफ्नो जरा र मौलिक संस्कृतिसँग जोड्न सेतुको काम गर्नेछ ।
कार्यक्रम केवल नाचगान र मनोरञ्जनमा मात्र सीमित हुने छैन । यसले नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रचार-प्रसार गर्ने र नेपाली मौलिक भेषभूषा एवं खानाका परिकारहरूलाई विदेशी नागरिकमाझ परिचित गराउने उद्देश्य राखेको छ । नेपाली सांस्कृतिक विभागको समेत समन्वय रहने यस उत्सवमा विभिन्न जातजातिका झाँकी, मौलिक लोक संगीत र राष्ट्रिय भावनाले ओतप्रोत प्रस्तुतिहरू समावेश गरिनेछन् । यसका साथै, स्पेनमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र सामाजिक एकतालाई थप प्रगाढ बनाउन यो एउटा साझा मञ्च बन्नेछ ।
मञ्चका अध्यक्ष विशाल ढुंगानाका अनुसार, अप्रिल २६ को अपरान्ह ४ बजेदेखि सुरु हुने यस ऐतिहासिक उत्सवमा सहभागी हुन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ ।
आयोजक टोलीका सदस्यहरू सूर्य प्रसाद सापकोटा “धिरज”, गंगा प्रसाद भुसाल, अर्जुन आचार्य, स्याम प्रसाद खनाल र गोविन्द अधिकारी लगायतको टोली अहिले कार्यक्रमलाई भव्य बनाउन तयारीमा जुटेको छ । बार्सिलोनाको मेट्रो एल-५ र एल-२ मार्फत सहजै पुग्न सकिने यस स्थानमा हुने कार्यक्रमले स्पेनको आकाशमुनि नेपालको झण्डा र नेपाली मनलाई गर्वका साथ प्रस्तुत गर्ने निश्चित छ ।






