एजेन्सी । भारतको राजधानी नयाँ दिल्ली तथा आसपासका क्षेत्रमा आइतबार भूकम्पको झड्का महसुस गरिएको छ ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.५ म्याग्निच्युडको रहेको थियो र यसको केन्द्रविन्दु उत्तर प्रदेशको गाजियाबादमा रहेको थियो । भूकम्पबाट क्षतिको खबर प्राप्त भएको छैन ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै सबैको सुरक्षाका लागि कामना गरेका छन् । लकडाउन सुरु भएयता दिल्लीमा महसुस गरिएको यो तेस्रो भूकम्पको झड्का हो । गत अप्रिलमा लगातार दुईवटा धक्का महसुस गरिएको थियो ।
गत अप्रिल १३ मा दिल्लीमा ३.५ म्याग्नेच्युडको भूकम्प गएको थियो भने त्यसको भोलिपल्ट २.७ म्याग्नेच्युडको भूकम्प महसुस गरिएको थियो । यसको केन्द्रविन्दु उत्तरपूर्वी दिल्लीमा परेको थियो ।
भारतमा चार भूकम्पीय क्षेत्र २, ३, ४ र ५ मध्ये दिल्ली जोन ४ मा पर्दछ । जोन ५ सबैभन्दा सक्रिय रहेको छ भने २ सबैभन्दा कम सक्रिय रहेको छ ।






