भैरहवा । करिब ५ वर्ष अगाडी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा अवस्थित कुञ्जपार्क घना जंगलको रुपमा रहेको थियो । पर्यटकीय सम्भावना बोकेको भए पनि आर्थिक अभावका कारण कुञ्जपार्क पार्कको रुपमा विकास हुन सकेको थिएन ।
तर, त्यही घना जंगल अहिले भने पर्यटकीय केन्द्रको रुपमा विकास भएको छ ।
झरना स्पोटर्स क्लबले कुञ्ज पार्कलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरेको हो । पार्कलाई व्यवस्थित बनाउन तिलोत्तमा नगरपालिकाले आर्थिक सहयोग पनि गरेको छ । अहिले यो पार्क सुन्दर र रमणीय केन्द्रको रुपमा विकास भएको छ । कुञ्जपार्क स्थानीय दुर्गा मन्दिरको नाममा रहेको जमिनमा बनेको भए पनि झरना स्पोटर्स क्लबले यसलाई सञ्चालनमा ल्याएको छ ।
पर्यटकीय केन्द्रको रुपमा विकास गर्न र आम नगरवासीलाई केही समय भए पनि घुम्न तथा रमाउन सहज होस् भन्ने उद्देश्यले क्लबको सहकार्यमा पार्क सञ्चालनमा ल्याएको क्लबका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार छत्र बहादुर दर्लामीले बताए । पर्यटकीय कुञ्ज पार्कमा बस्दै पूर्व अध्यक्ष दर्लामीले भने ‘यही ठाँउ हो ५÷७ वर्ष अगाडिसम्म घना जंगल थियो, तर हेर्नुस त अहिले सयौं जना रमाइरहेका छन् । केही वर्ष अगाडिसम्म जंगलको रुपमा रहेको यो ठाउँलाई पार्कको रुपमा देख्न पाउँदा निकै खुशी लागेको छ ।’
कुञ्ज पार्कमा रहेको पोखरी आर्कषणको केन्द्रको रुपमा रहेको छ । त्यसै गरी वरीपरी रहेका विभिन्न जातका फुल विरुवा तथा स–साना बालबालिका खेल्नका लागि राखिएका पिङ तथा चिप्लेटीले पनि त्यहा पुग्ने सबैलाई आर्कषित गरेको छ । यो पार्क ३ बिगाह क्षेत्रफलमा रहेको छ ।
पार्क व्यवस्थित भएपछि अहिले आन्तरिक पर्यटकहरुको घँुइचो लागेको छ । लामो समयसम्म लकडाउनका कारण घरमा बस्दा दिक्क लागेको थियो भैरहवाबाट कुञ्जपार्क घुम्न गएका केशव भण्डारीले भने, ‘अहिले निकै आनन्द आएको छ, घुम्नका लागि कुञ्जपार्क उपयुक्त गन्तव्य हो ।
पर्यटकको घुँइचो लागेपछि पार्कसंग जोडिएको ४ बिगाह जग्गालाई पनि लिजमा लिएर थप व्यवस्थित पार्कको रुपमा निर्माण गर्ने सोचमा रहेको झरना स्पोट्स क्लबका अध्यक्ष लोक पुनले बताए । क्लबले उक्त स्थानलाई पार्कको रुपमा विकास गर्न झण्डै १० वर्ष लागेको अध्यक्ष पुनको भनाइ छ । पार्कमा आन्तरिक पर्यटकको घँुइचो बढ्न थालेसंगै अहिले पार्कको छेउमा रहेको ३ बिगाहा जग्गालाई पनि लिजमा लिइएको उनको भनाइ छ । तर, उनले त्यसका लागि आवश्यक बजेटको अभाव रहेको बताए ।
यो पार्क व्यवस्थित बनेसंगै आन्तरिक पर्यटकहरु अत्याधिक मात्रमा आउन थालेकाले यो ठाउँ प्रयाप्त नहुने भएपछि नजिकै रहेको विद्यालयको जमिनलाई क्लबले लिजमा लिएको बताउँदै अध्यक्ष पुनले यसका लागि तिलोत्तमा नगरपालिकाको सहयोगको अपेक्षा गरिएको बताए । हरेक दिनजसो पर्यटकको घुँइचो लाग्ने गरेको छ, अध्यक्ष पुनले भने, ‘शुक्रबार र शनिबारका लागि पिकनिक तथा अन्य कार्यक्रम गर्नुप¥यो भने अघिल्लै दिन बुक गर्नुहुन्छ ।
यस पार्कमा घुम्नका लागि तिलोत्तमा नगरपालिकाबाट मात्र नभइ बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकाका, ओमसतिया गाउँपालिका लगायतका स्थानबाट पर्यटकहरु आउने गरेको पुनले बताए ।






