केपी ओली लोकतन्त्रविरुद्ध अगाडी बढ्नुभयो : घनश्याम भुसाल

रविन्द्र प्रताप गुप्ता २२ पुष २०७७, बुधबार BOX NEWS

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले जनता, पार्टी र लोकतन्त्रसंग गरिएको सम्झौताविरुद्ध प्रधानमन्त्री केपी ओली अगाडी बढेको बताएका छन् । उनले ओली सजायको भागिदार भएको बताए ।

प्रेस संगठन नेपाल रुपन्देहीले बुधबार तिलोत्तमाको ड्राइभरटोलमा आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन ः असंवैधानिक कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले संसद पुनस्र्थापना गर्नु भनेकै ओलीलाई सजाय दिनु भएको बताए । उनले राष्ट्रलाई एकीकृत बनाएर संविधानको रक्षा गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । ‘हिजो जसरी राष्ट्र एकीकृत भएर हामीले संविधान जारी गरेका थियौं, त्यसरी नै आज राष्ट्रलाई एकीकृत बनाएर संविधानको रक्षा गर्नुपर्छ, उनले भने ।’

भारतले नाकाबन्दी गर्दा ओली त्यसविरुद्ध लडेको, ओली नेतृत्वको सरकारले नयाँ नक्सा प्रकाशित गरेको जस्ता सन्दर्भ जोडेर प्रतिनिधिसभा विघटन ठीक हो भन्ने पुष्टि गर्न खोजिए पनि संविधान प्रष्ट भएको भुसालले बताए । उनले सम्पूर्ण नागरिक समाज र राजनीतिक दल प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने कुरामा प्रष्ट रहेको दावी गरे । उनले संसद विघटनलाई उल्ट्याउनुपर्ने बताए ।

पूर्व कृषिमन्त्री समेत रहेका नेता भुसालले संसद पुनस्र्थापना हुन ढिलो भए त्यसले क्षति गर्ने बताए । उनले बढी क्षति हुनु अगावै नै संसद पुनस्र्थापना गर्नुपर्ने बताए । लोकतन्त्र स्थापनामा पत्रकार जगतको योगदान महत्वपूर्ण रहेको उनले बताए । उनले पत्रकार सत्यको दुत बन्न नसके पत्रकारिता रहन नसक्ने बताए ।

नेकपा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही जिल्ला सचिव नारायण जि.सी. (निर्मल) ले केपी ओली गणतन्त्रको पक्षधर नभएको बताए । उनले ओलीले निरकुंश शैलीमा प्रतिनिधिसभा विघटन गराएको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले प्रतिनिधिसभा विघटनको कदम अदालत सदर गर्ने कुरा आफुलाई नलागेको बताए । उनले संसद विघटन असंवैधानिक कदम भएको र संविधानमा नभएको अधिकार प्रधानमन्त्री ओलीले प्रयोग गर्नुभएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले संविधान जोगाउन लाग्नुपर्ने बताए । प्रेस चौतारी नेपाल, राष्ट्रिय समाचार समिति (रासस)का पूर्व केन्द्रीय अध्यक्ष तथा अधिवक्ता बालकृष्ण चापागाईले संसद विघटन जस्तो गलत कदमको समर्थन गर्नु पनि आत्मघाती भएको बताए । उनले ओलीले चालेको कदम महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र र गिरिजा प्रसाद भन्दा खतरनाक भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले प्रतिनिधिसधा विघटनबारे पत्रकार महासंघले असंवैधानिक भनिसकेको बताए । अग्रज पत्रकार तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार नारायण प्रसाद सापकोटाले ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी.ले प्राप्त उपलब्धीलाई रक्षा गर्नु नै अहिलेको आवश्यकता भएको बताए । अग्रज पत्रकार मदनलाल पौडेलले आफुले संविधान १० पटकसम्म पढे पनि संसद विघटन गर्ने व्यवस्था संविधानमा नरहेको बताए । उनले यस्तो काम गर्ने व्यक्ति प्रजातान्त्रिक र कम्युनिष्ट हुन नसक्ने दावी गरे ।

प्रेस संगठन नेपाल रुपन्देहीका सह–संयोजक कमल रायमाझीको अध्यक्षता, केन्द्रीय सदस्य रुद्रहरि कुंवरको स्वागत तथा रुपन्देही जिल्ला सदस्य नरेश के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार