भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न दिइएन भन्ने कुरा झुटो भएको बताएका छन् । उनले पार्टी फुटाउने अध्यादेशको विरोध तथा एमसीसी राष्ट्रिय हितको लागि मात्रै सम्झौता हुनुपर्छ भन्नेबाहेक अन्य विषयमा विरोध नगरिएको दावी गरे ।
नेकपा रुपन्देही सिद्धार्थनगर नगर कमिटी (प्रचण्ड–माधव) समूहको विस्तारित बैठकलाई मंगलबार भैरहवामा सम्बोधन गर्दै नेता भुसालले केपी ओली अल्पमतमा परेपछि संसद विघटन गराएको आरोप लगाए । उनले संसद विघटनपछि आफुले ओलीलाई जीवनमा पहिलो पटक धेरै खुशी देखेको बताए । ‘प्रधानमन्त्रीका पछिल्ला केही अभिव्यक्तिहरु राष्ट्र र जनताको हितमा छैनन्,’ उनले भने ।
संसदको विघटन संविधानको बर्खिलाप भएको र संविधान विरोधी भएकोले यसको पुनस्र्थापना हुनुपर्ने भुसालको भनाइ छ । ‘कानूनी रुपमा संसद विघटन भएको छैन, राष्ट्रपतिको चिठ्ठीको कारण संसद अवरुद्ध भएको हो, सारा कानूनविद र राजनीतिक पार्टीले पनि संसद विघटनलाई असंवैधानिक कदम भनिरहेका छन, ’भुसालले भने ।
मुलुकलाई अस्थिरतातर्फ जानबाट बचाउनु नै अहिलेको आवश्यकता रहेको उनले बताए । ‘कमरेड ओलीबाहेक मनभित्रैबाट संसद विघटन गर्ने कदम कसैले ठीक हो भन्दैन, ’उनले भने ।
पूर्व कृषिमन्त्री समेत रहेका भुसालले संसद विघटन गलत कदम हो भन्नेबित्तिकै केन्द्रीय सदस्य बनाइएको भए पनि राजनीतिक नियुक्तिले क्रान्ति नरोकिने दावी गरे । संसद पुनस्र्थापना गरेर संविधान र लोकतन्त्रको रक्षा तथा पार्टी एकता गर्नु नै मुलुकको लागि हित हुने उनले बताए ।
झण्डै दुईतिहाई बहुमत प्राप्त पार्टीले अरुको पार्टी किन फोड्ने भन्दै उनले प्रश्न गरे । धेरै सपेराको मृत्यु सर्पले टोकेर हुने भएकोले अरुको पार्टी फुटाउन खोज्नेको आफ्नै पार्टी फुट्ने उनले बताए । पार्टी फुटाउने अध्यादेशको व्यापक विरोध भएको उनले बताए । पार्टी विभाजन पार्टीभित्र र संसदीय दलमा ४० प्रतिशत बहुमत आवश्यक रहेकोले त्यो बेला पार्टी विभाजन गर्नको लागि अध्यादेश ल्याउन खोजिएको भुसालको भनाइ छ ।
‘भयंकर राम्रो काम गरेको नेताले भयंकर नराम्रो गर्न सक्छ, एक दिन क्रान्तिकारी हुनु ठूलो कुरा होइन,’ उनले भने ।






