जोआ डोरिया ब्राजिलको सबैभन्दा धनी राज्य साओपालका गभर्नर हुन् । एक समय उनी ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका सहयोगी थिए । तर अहिले यी दुई नेताबीच ब्राजिलमा कोरोना रोकथामका विषयमा चर्को मतभेद देखिँदै आएको छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना संक्रमणबाट ६१५ जनाको मृत्यु भएको छ । यो ब्राजिलमा एकैदिनमा कोरोना संक्रमणका कारण मृत्यु हुने अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । डोरियाले आफ्नो राज्यमा अहिले पनि लकडाउन कडाईका साथ लागू गरिरहेका छन् । तर बोल्सोनारो शुरुदेखिनै लकडाउन खोल्नुपर्ने पक्षमा रहँदै आएका छन् । उनी ती मानिसहरुलाई मात्र घर बस्न आग्रह गरिरहेका छन्, जो गम्भीर बिरामी छन् । बाँकी मानिसहरु सबै आ–आफ्नो काममा लाग्नुपर्ने उनले बताउँदै आएका छन् । राष्ट्रपति बोल्सोनारो कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा गम्भीर नभएका आरोपहरु लाग्दै आइरहेका छन् । पछिल्लो महिना उनी लकडाउनका विरुद्धमा भएको प्रदर्शनमा समेत सहभागी भएका थिए । उनी तत्काल लकडाउन खोल्न चाहान्छन् ।
सुरु देखिनै डोरिया र बोल्सनोरोबीच कोरोना भाइरस महामारीका विषयमा चर्को मत भिन्नता देखिँदै आएको छ । बीबीसी संवाददाता क्याटी वाटसनसँगको कुराकानीका क्रममा गभर्नर डोरियाले भने, ‘हामी (ब्राजिल) अहिले दुईवटा भाइरससँग लडिरहेका छौं । एउटा कोरोना भाइरस, अर्को बोल्सनारो भाइरस ।’
राष्ट्रपति बोल्सानारोले कोरोना महामारीविरुद्धको लडाईलाई हल्का रुपमा लिएको भन्दै ब्राजिल लगायत विश्वभर आलोचना हुँदै आएको छ । ब्राजिलमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ हजार ६ सय ९ जनाको मृत्यु भैसकेको छ भने १ लाख २७ हजार ६ सय ५५ जना संक्रमित भएका छन् । एजेन्सी






