जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित वैदेही दुहबीमा सशस्त्र प्रहरी बल (एपीएफ) र तस्कर समूहबीच बिहीबार साँझ तनावपूर्ण भिडन्त भएको छ। भिडन्तमा परी ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गरेको छ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार तस्करीको सामान लुकाएर राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। तर प्रहरी पुग्नासाथ तस्करहरूको समूहले ढुङ्गा र लाठीहातियारसहित आक्रमण गरेका थिए।
घाइते प्रहरीलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ। अहिले उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
सशस्त्र प्रहरीले तस्कर समूहको खोजी तीव्र पारिएको जनाएको छ। यता स्थानीय प्रशासनले पनि घटनाको विस्तृत छानबिन सुरु गरेको छ।