काठमाडौँ। “बुबा बितेपछि म बिहान–बेलुका पशुपतिमा खादा बेच्न थालें,” सर्लाहीमा जन्मिएकी, हाल तिलगङ्गामा बस्दै आएकी १२ वर्षीया सावित्री भन्छिन्, “बिरामी आमा अरुको घरमा काम गर्न जानुहुन्छ, म पनि सघाउन जान्छु।”
सावित्री हाल शारदा माध्यमिक विद्यालय, तिलगङ्गामा कक्षा ७ मा पढ्दैछिन्। तीन वर्षअघि बाबुको निधन भएपछि घरमा आमा, दुई दाजु र दुई दिदीबहिनीको जिम्मेवारी एक्कासी आइलाग्यो। बाबुले चलाएको सैलुन अहिले मामाले चलाइरहनु भएको छ। आर्थिक अभावका बीच सावित्रीले बिहान-शाम खादा बेच्ने र फुर्सदमा आमालाई सघाउने काम गर्छिन्।
सानैदेखि छाती दुख्ने समस्या भए पनि आमालाई चिन्ता नपरोस् भनेर उनले लुकाएकी छन्। “पढेर नर्स बन्ने र गरिब बिरामीको उपचार गर्ने सपना छ,” उनी भन्छिन्।
राजीव, सुनिता र रमेशको संघर्षपूर्ण बाल्यकाल
जनकपुर घर भई पशुपतिमा बस्ने १४ वर्षीय राजीव पनि हजुरबुबासँग मागेर गुजारा चलाइरहेका छन्। हजुरबुबा कुष्ठरोगी र हजुरआमा मेरुदण्डको समस्याबाट पीडित छन्। “दिउँसो खाजा खाने समयमा हजुरबुबालाई चिया बिस्कुट खुवाउँछु, साँझ घर ल्याउँछु,” राजीव भन्छन्। उनी शारदा माध्यमिक विद्यालय, तिलगङ्गामा कक्षा ८ मा पढ्दैछन्।
त्यस्तै, भारतबाट आएका ९ वर्षीया सुनिता पनि तिलगङ्गा नजिक बस्छिन्। फोहोर सङ्कलन गर्ने बुबाको आम्दानीले सात सदस्यको परिवार चलाउन मुस्किल परेको छ। “शिक्षक बन्ने लक्ष्य छ, डाक्टर बन्न सकिन भने पनि सबैलाई पढाउने छु,” उनी भन्छिन्।
गौरीघाटको टहरामा बस्ने १२ वर्षीय रमेशको त झनै दयनीय अवस्था छ। उनलाई बाबु को हो भन्ने थाहा छैन। उनी एलकेजी कक्षा पढ्दैछन् र दाइसँग फूल बेच्ने काम गर्छन्।
सुरेश र प्रवेशको कथा : स्वास्थ्य र भविष्यबीचको द्वन्द्व
१६ वर्षीय सुरेशकुमारको आमाले छाडेर गएपछि उनको दैनिकी झनै पीडादायी बन्यो। सानोमा लडेर छातीको करङ बाहिरिएको छ, तर उपचारको आर्थिक स्रोत छैन। लाहुरे बन्ने सपना थियो, तर उनले अब नाच सिकाउने शिक्षक बन्ने लक्ष्य बनाएका छन्।
११ वर्षीय प्रवेश नेपाली रामेछापका हुन्, हाल जडीबुटीमा बस्छन्। आमा बितेपछि मानसिक समस्याग्रस्त सानी आमासँग बस्छन्। बिहान–बेलुका सडकमा पानी बेच्ने गर्छन्। “बिहान बेलुका पानी नबेचे खान पाइँदैन,” प्रवेश भन्छन्।
सडकबाट विद्यालयसम्म : साथसाथ संस्थाको योगदान
‘साथसाथ संस्था’ले यस्ता सडक बालबालिकालाई स्कुलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ। सात वर्षदेखि सञ्चालनमा रहेको ‘सडकदेखि शिक्षासम्म’ अभियान अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका २२ सामुदायिक विद्यालयमा १८२ जना बालबालिका पढाइँदैछ।
संस्थाकी स्रोत व्यक्ति कविता शाह भन्छिन्, “मोवाइल स्कुलमार्फत चार ठाउँमा दैनिक शिक्षण भइरहेको छ, सिकाइ केन्द्रमा अनौपचारिक शिक्षा दिएर स्कुलमै लगिन्छ।”
सरकारी प्रयास र नीति : बालश्रम न्यूनीकरणतर्फको पाइला
नेपाल सरकारले सन् २०२८ सम्म देशलाई बालश्रममुक्त बनाउने लक्ष्यसहित दशवर्षे गुरुयोजना बनाएको छ। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार, अहिले देशभर करिब तीन–चार लाख बालबालिका बालश्रममा संलग्न छन्। यो संख्या सन् २०११ को ११ लाखको तुलनामा उल्लेखनीय रूपमा घटेको हो।
बालश्रम मुक्त स्थानीय तह घोषणा गर्ने एक दर्जनभन्दा बढी पालिकाले कार्ययोजना अघि बढाइसकेका छन्। बालश्रमविरुद्ध ऐन, २०५६ अनुसार १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन पाइँदैन भने १६ वर्षमुनिका बालबालिकालाई जोखिमयुक्त श्रममा लगाउन निषेध गरिएको छ।
संविधान र अन्तर्राष्ट्रिय संधिअनुसार बालअधिकार
नेपालको संविधानको धारा ३९ मा हरेक बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सम्मानजनक जीवनको अधिकार सुनिश्चित गरिएको छ।
बालश्रम निषेधसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १८२ नेपालले अनुमोदन गरिसकेको छ। यसै सम्झनामा हरेक वर्ष जुन १२ मा ‘अन्तर्राष्ट्रिय बालश्रमविरुद्ध दिवस’ मनाइन्छ। यस वर्षको नारा हो – ‘प्रगति स्पष्ट छ, तर अझ धेरै गर्नुछ – प्रयासको गति बढाऔँ।’






