शिवु खनाल, देउखुरी । मानिसलाई विकसित,चरित्रवान्,कर्मशील तथा अनुशासित बनाउँदै सार्थक जीवन व्यतीत गर्न सक्षम बनाउने कार्य नै शिक्षा हो। शिक्षा राष्ट्र निर्माणको बलियो आधार हो, जहाँ गुणस्तरीय शिक्षा पर्याप्त हुन्छ त्यहाँ समृद्धिको ढोका खुलेको हुन्छ । देश संघीयतामा गएसँगै पहिले एकीकृत शैक्षिक व्यवस्था अहिले प्रदेश र स्थानीय तहमार्फत् गाउँ–गाउँमा पुग्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले पनि आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिदिएकोले प्रत्येक स्थानीय तहलाई काम गर्न सजिलो भएको छ । केन्द्र सरकारको मुख ताक्नु पर्ने बाध्यता छैन । प्रत्येक स्थानीय तहमा न्यूनतम स्नातक तहसम्म पढ्न पाउने शैक्षिक संस्था र आधुनिक पुस्तकालय आवश्यक छ । अहिलेको दुनियाँ प्रविधिको युग हो, त्यसैले सबै विद्यालयमा ‘इ–लर्निङ’ को लागि व्यवस्था हुनुपर्छ । जेनतेन उच्च शिक्षा हासिल गरेता पनि हाम्रो देशको शिक्षा व्यवहारिक नहुनाको कारण विद्यार्थीमा दक्षताको अभाव देखिएको लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले बताए ।
दाङको लमहीमा रहेको देउखुरी पब्लिक माध्यमिक विद्यालयको १७ औँ वार्षिकोत्सव तथा प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपालको शिक्षा प्रमाणपत्र आर्जन गर्ने थलो मात्र भएजस्तो देखिएको प्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘दक्ष जनशक्ति उत्पादन भए पनि कि त त्यस्तो जनशक्ति ब्रेन ड्रेनको सिकार हुन्छ कि त दक्षता अनुसारको काम नपाएर शैक्षिक बेरोजगार हुन विवश ।’ ‘हामी पनि राम्रो कुराको अरूको सिको गर्न जान्नु पर्छ । देशमा व्याप्त अव्यवहारिक नियम कानुनलाई परिमार्जन संशोधन गरी बुर्जुवा शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनु अहिलेको अपरिहार्य आवश्यकता हो ।’ कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मन्त्री चौधरीले समाजलाई अगाडि बढाउन सरकारको मात्र भूमिका सोच्नु गलत भएको बताउदै हामी सबैको उतिकै भूमिका रहने बताए । उनले यस्ता कार्यहरूमा ज्ञान प्राप्त गरेका व्यक्तिहरूले यसतर्फ ध्यान दिन सकेनौं भने परिवर्तनको कल्पना गर्नु साँच्चिकै व्यर्थ रहेको बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले हामी आफूले बुझेका कुरालाई व्यवहारिक रूपमा देखाउन सकेनौं भने हामीले प्राप्त गरेका ज्ञानको कुनै औचित्य नरहेको बताउदै हामीभित्रको ज्ञान जीवनमा व्यवहारिक रूपमा देखाउन सक्छौं कि सक्दैनौं त्यो महत्वपूर्ण कुरा रहेको विचार व्यक्त गरे ।
उनले भने, ‘त्यसैले पनि नैतिक र व्यवहारिक शिक्षा आजको अनिवार्य आवश्यकता बनेको छ । आजको शिक्षा जुन मात्रामा व्यावहारिक हुनुपथ्र्यो त्यो मात्रामा प्रयोगमा ल्याइएको छैन । जीवनको बाटो देखाउने अत्यावश्यक पक्ष शिक्षा भएकोले शिक्षाको अपरिहार्यतालाई बोध गर्दै यसलाई जीवनपयोगी र व्यवहारिक बनाउनुपर्दछ ।’ कार्यक्रममा देउखुरी पब्लिक माध्यमिक विद्यालयका प्राचार्य भुमाण्डब केसीले विद्यार्थी भनेका गाउँ समाज एवम देशको मेरुदण्ड भएको बताए । उनले भोलि देशले प्रमुख स्थानको जिम्मेवारी सुम्पने भनेको आजका विद्यार्थीहरूलाई नै रहेको बताउदै भोलिका डक्टरदेखि देश हाँक्ने विद्यार्थी नै रहेको बताए । उनले भने, ‘तसर्थ विद्यार्थीहरूले सोच्न, बुझ्न र थालनी गर्नुपर्ने अवसर हामी सामु आइसकेको छ । हामीले यस अवस्थामा शैक्षिक कार्यकलापसँगै समग्र समाजलाई फाइदा हुने कार्यमा पछि हट्नु हुँदैन ।’ ‘कतिपयले भन्ने गर्छन, ‘पुस्तकभन्दा बाहिरको जानकारी लिनु व्यर्थ हो ।’ तर यो वास्तविकता होइन । हामीले आजको दुनियाँलाई नियाल्न आवश्यक छ । विद्यार्थीहरूले त विभिन्न ठाउँ, त्यहाँको वनावट, स्थिति सबैलाई नियाल्नु जरुरी हुन्छ । आजका हामी विद्यार्थीहरूलाई काँधमा धेरै जिम्मेवारी आइसकेको स्थिति छ ।’
उनले सभ्य समाज निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताए । सामाजिक रूपमा विद्यमान विकृतिहरूको अन्त्य गर्दै राम्रा रितिरिवाजलाई जोगाँउदै र नराम्रालाई हटाउँदै जानु विद्यार्थीको मुल दायित्व रहेको बताउदै उनले यसमा हामी सम्पूर्ण युवा विद्यार्थीहरूले ध्यान दिनु जरुरी रहेको बताए । उनले भने, ‘यो दायित्व पूरा गरेमा मात्र हामी देशको मेरुदण्ड बन्न सक्दछौं ।’ कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्मा, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, लमही नगरपालिका पूर्व नगर प्रमुख कुलबहादुर केसी लगायतले बोल्नु भएको थियो ।






