काभ्रे । अबिरल वर्षातको कारण गएको बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई नेपाल तामाङ घेदुङको सहकार्य र अन्तराष्ट्रिय तामाङ परिषदको समन्वयमा आर्थिक सहयोग गरेका छन् ।
विशेषगरी नेपाल तामाङ समाज जापान, नेपाल तामाङ घेदुङ रोमानिया, तामाङ समाज युके, नेपाल तामाङ, घेदुङ इजरायल , तामाङ समाज पोर्तुगल, तामाङ समाज बेल्जियम ,तामाङ घेदुङ मलेसिया, प्रवासी सृजनशील महिला समूह इजरायल लगायतका देशहरूबाट पठाएको सहयोग रकम र नेपाल तामाङ घेदुङको कार्यसमिति, सल्लाहकार सदस्यहरुबाट प्राप्त रकम हस्तान्तरण गरेका हुन ।
तामाङ घेदुङ इजरायल, तामाङ घेदुङ रोमानिया र प्रवासी सृजनशील महिला समूह इजरायलले मृतक बाहेक बाढीपहिरोको कारण पीडित भएका तेमाल-२ का ६४ परिवारलाई राहतस्वरूप तीन हजार पाँच सय रुपैयाँको दरले आर्थिक सहयोग गरेका छन् ।
नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, अन्तराष्ट्रिय तामाङ परिषदका महासचिव एवम् कार्यकारी प्रमुख टसी लामा, इजरायल घेदुङको प्रथम उपाध्यक्ष कुमारी गाल्देन, घेदुङ काभ्रेका अध्यक्ष राज कुमार तामाङ, घेदुङका विपत व्यवस्थापन समितिका सदस्य हिरालाल तामाङ, तामाङ समाज जापानका प्रतिनिधि दिपेन्द्र तामाङ, घेदुङ काभ्रेका सचिव निमा लामा, समाजसेवी कमल बम्झन लगायतका व्यक्तिहरुको उपस्थितिमा आर्थिक सहयोग गरेका थिए ।
हालसम्म बाढीपहिरोमा परि निधन भएका १८ जनालाई प्रति व्यक्ति २४ हजार र एउटै परिवारबाट एकजना भन्दा बढी निधन भएको भए दोस्रो व्यक्तिको नाममा १२ हजारको दरले रकम हस्तान्तरण गरेका थिए ।
नमोबुद्ध-५ का ४ जना, तेमाल-१ का २ जना, तेमाल-२ का ८ जना, तेमाल-४ का २ जना, तेमाल-७ का २ जना निधन भएका परिवारलाई रकम हस्तान्तरण गरिसकेका छन् भने अती प्रभावित क्षेत्र नमोबुद्धका अन्य वडा, रोशि गाउँपालिका, बेथन्चोक गाउँपालिका, ललितपुरको कन्च्योसोम गाउँपालिका र महांकाल गाउँपालिका, मकवानपुरको बागमती गाउँपालिका लगायत अन्य क्षेत्रमा निधन भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष टसी लामाले उज्यालो नेटवर्कलाई बताए ।
उनले भने ‘ हामीले आर्थिक हिसाबले धेरै सहयोग गर्न नसके पनि यो दुखद गडीमा हामी पनि छौ है भन्ने सन्देश पीडितहरुलाई दिनको लागि घट्न स्थलमा पुगेर आर्थिक सहयोग गरेका छौँ । ‘