काठमाडौं । अविरल वर्षातको कारण मुलुक बाढी र पहिरोको चपेटामा परिरहेको बेला कान्तिपुर भेटले किसानको घाउमा मल्हम लगाउने प्रयास थालेको छ । पशुपन्छीको औषधि आयात र बिक्री वितरणको अग्रणी समूह कान्तिपुर भेटले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडित कृषकहरूको पशुपन्छीको उपचारका लागि २० लाख रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गर्ने घोषणा गर्दै किसानको घाउमा मल्हम लगाउने प्रयास थालेको होे ।
औषधि वितरण कार्य निष्पक्ष र समानताका आधारमा हुने भन्दै, कान्तिपुर भेटले औषधिहरू नेपाल सरकारका सम्बन्धित निकायहरू, नेपाल भेटेरिनरी एशोसियसन (एनभिए), नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन (नेभ्ला), र नेपाल पशु स्वास्थ्य प्राविधिक संघ (नेल्टा) मार्फत प्रभावित पशुपन्छीहरूको उपचारका लागि उपलब्ध गराउने जनाएको छ।
कान्तिपुर भेट समूहका प्रमुख हेमराज बडालले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्वअनुरूप यो विपत्तिको समयमा पीडित कृषकहरूलाई २० लाख रुपैयाँ बराबरको औषधि निःशुल्क दिने बताए। उनले यस विपत्तिमा मृत्युवरण गरेका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
यस निःशुल्क औषधि वितरणले प्रभावित क्षेत्रका किसानहरूलाई ठूलो राहत मिल्ने विश्वास पनि उनले व्यक्त गरेका छन्। कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा।लि। नेपालमा पशु र कुखुराजन्य उद्योगहरूको विकासमा समर्पित कम्पनी हो। सन् २००१ देखि, केभिडीले विश्वका विभिन्न कम्पनीहरूबाट औषधि, खोप, र फिड एडिटिभ्सजस्ता पशु र कुखुराको स्वास्थ्यसम्बन्धी उत्पादनहरू आयात र वितरण गर्दै आएको छ।






