डिबि लामा/काभ्रे।
जिल्लाको डाँडापारि क्षेत्रमा अवस्थित खानीखोला गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । खानीखोला गाउँपालिकाको आर्थिक सहयोग र डाँडापारि मिडिया ग्रुपको आयोजनामा सञ्चालित दुई दिने तालिम सोमबार सम्पन्न भएको हो ।
खानीखोलाका सातै वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको आधारभूत तालिममा २९ जनाको सहभागिता थिायो । तालिममा जनप्रतिरोध साप्ताहिकका सम्पादक पेमा लामा, उज्यालो नेटवर्क डटकमका सम्पादक बुद्ध लोप्चनले प्रशिक्षण दिएका थिए । साथमा अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता रोजन तामाङ, डाँडापारि सन्देश साप्ताहिकका प्रबन्धक डिबि लामाले तालिममा प्रशिक्षण र सहजीकरण गरेका थिए ।
तालिमको उदघाटन गाउँपालिकाका अ्रध्यक्ष इन्द्रबहादुर थिङले गरेका थिए भने समापन समारोहमा उपाध्यक्ष दोर्जेमान जिम्बा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समापन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष जिम्बाले पत्रकारिताले गरिब जनताको पक्षमा कलम चलाउनुपर्ने बताए ।
तालिममा सहभागीमध्ये रविन आचार्य र प्रमिला थिङले सिकाईको अनुभुतिजन्य विषय राखेका थिए । समापनमा खानीखोला गाउँपालिका शिक्षा शाखाका सहजकर्ता होम बहादुर वाईबा, प्रशिक्षक पेमा लामाले मन्तव्य राखेका थिए । डाँडापारि मिडिया गु्रपका सञ्चालक बुद्ध लोप्चनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहभागीमध्येबाट सरिता तिमल्सिनाले गरेकी थिइन् भने डाँडापारि सन्देशका प्रबन्धक डिबि लामाले धन्यवाद मन्तव्य राखेका थिए ।






