काठमाडौ।बागमती प्रदेशका प्रदेशसभा सदस्य युवराज दुलालले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्दा गठबन्धन टुट्छ वा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य दुलालले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । उनले यसअघि पनि एमसीसी परियोजना जनताको घरदैलोमा बहस भइसकेको विषय भएकाले संशोधन बिना पारित हुन नहुने तर्क अघि सार्दै आएका थिए ।
आजपनि उनले भनेका छन्, ‘फेरि भनौं, नो एमसीसी’ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने नेता दुलालले यदी अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ भने टुट्न दिनुपर्ने तर्क गरेका हुन् ।
उनले भनेका छन्, ‘यदी एमसीसी संसदमा टेबल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सरकार ढल्छ भने ढल्न दिनुपर्छ ।’ एमसीसी परियोजना विदेशी उपनिवेशमा भएको उनको दाबी छ । दुलालले अघि भनेका छन्,‘र, बुझ्नपर्छ देश विदेशी उपनिवेशमा नै छ । त्यसबाट मुक्त हुन नयाँ पुस्ताले राष्ट्रिय स्वतन्त्रताको लडाईं लड्नुपर्छ ।’
एमसीसी परियोजना संसदबाट पारित गर्ने वा नगर्ने भन्नेमा लामो समयदेखि बहस हुँदै आएको छ ।