सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ४ मझौलिया टोलमा घाँस काट्न गएकी एक महिलामाथि आक्रमण गरी सुन तथा चाँदीका गरगहना लुटिएको छ। शुक्रबार दिउँसो स्थानीय दिनेश यादवकी श्रीमती करिब ४० वर्षीया चन्द्रकला देवी यादव गाउँबाट करिब आधा किलोमिटर पश्चिम तथा निर्दना–डरौल जाने बाटोको दक्षिणतर्फ घाँस काट्न गएकी थिइन्।
सोही क्रममा अज्ञात पुरुष व्यक्ति पछाडिबाट आएर उनको मुख थुनेर आँखामा पट्टी बाँधी, उनकै हँसियाले घाँटी रेटी घाइते बनाएको बताइएको छ। आक्रमणपछि आरोपीले चन्द्रकलाले लगाएका करिब ५० तोला चाँदीको कडा, ४ आनाको सुनको मंगलसूत्र, ८ आनाको सुनको कानमा लगाउने गहना तथा १ आनाको सुनको नाकमा लगाउने गहना लुटेर फरार भएको जनाइएको छ।
घाइते चन्द्रकलाको मिर्चैयास्थित मंगलम हेल्थ केयर मा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने फरार रहेका आरोपीको खोजी कार्य जारी रहेको बताइएको छ।






