काभ्रे, असार १० — काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका ले एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।
गाउँपालिकाको १९औँ गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा साधारण तथा प्राविधिक धारतर्फ उत्कृष्ट नतिजा ल्याउने चार जना विद्यार्थीलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो।
२०८१ सालको एसईई नियमित परीक्षामा साधारण धारतर्फ ३.४३ जीपीए प्राप्त गर्ने जनहित माध्यमिक विद्यालय, महाङ्कालका निश्चल थापा मगर तथा प्राविधिक धारतर्फ ३.६५ जीपीए हासिल गर्ने जनविकास माध्यमिक विद्यालय ताल्ढुङ्गाका प्रयास बन्जारालाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, २०८२ सालको एसईई परीक्षामा साधारण धारतर्फ ३.३१ जीपीए प्राप्त गर्ने कुमारी माध्यमिक विद्यालय जगथलीका इमसाङ योन्जन र प्राविधिक धारतर्फ ३.६५ जीपीए हासिल गर्ने जनविकास माध्यमिक विद्यालय ताल्ढुङ्गाकी नेहा खुलाल पनि समान पुरस्कारसहित सम्मानित भएका छन्।
कार्यक्रमबारे जानकारी दिँदै गाउँपालिकाका शिक्षा शाखा सहजकर्ता होमबहादुर वाइबाले विद्यार्थीलाई थप उत्साहित, अनुशासित र मेहनती बनाउन सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए।
सम्मान प्रदान गर्दै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै यसले आगामी दिनमा अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दोर्जेमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, विभिन्न वडाका वडाध्यक्ष, गाउँपालिकाका कर्मचारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। सम्मानित विद्यार्थीलाई बधाई दिँदै उपस्थित वक्ताहरूले शिक्षा क्षेत्रमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरेका थिए।










