रामनारायण ठाकुर, मिर्चैया, असार ८ गते सोमबार “स्वास्थ्यका लागि योग, जीवनका लागि योग” भन्ने नारासहित १२औँ विश्व योग दिवसको अवसरमा पतञ्जलि योग समिति नेपालद्वारा सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
पतञ्जलि योग समिति मिर्चैयाको आयोजनामा,मिर्चैया आयुर्वेद शाखा मिर्चैया नगरपालिका, नेपाल–भारत मैत्री संघ उपशाखा मिर्चैयाकाे सहयोग तथा मिर्चैया उद्योग वाणिज्य संघको समन्वयमा आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्।
मिर्चैयास्थित कटारी चोकको पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, युवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। पतञ्जलि योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहका अनुसार रक्तदानजस्तो मानवीय कार्यमार्फत विश्व योग दिवसलाई थप अर्थपूर्ण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठले सिरहा तथा मिर्चैया क्षेत्रमा रगत अभावका कारण बिरामीहरूले बेला–बेलामा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै वर्षायाम तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने रगत सहज रूपमा उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको बताए।
कार्यक्रमका सहभागीहरूले “रक्तदान जीवनदान” भएकाले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। आयोजकका अनुसार कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्याउनुका साथै समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।












