देउखुरी । लमही नगरपालिका वडा नम्बर ५ निवासी कमल नारायण चौधरीले रोपाइँका लागि हातेट्याक्टरले हिलो सम्याउँदै थिए । कोदालीले छेउकुनाको माटो तान्दै गर्दा अचानक पैतालामा केही वस्तुले कोपेपछि हिलोमै लडेँ । यो दुःखेसो हो लमही नगरपालिका वडा नम्बर ५ अन्तरगत रहेका बजार टोल विकास संस्था, मिलन टोल विकास संस्था, संगम टोल विकास संस्था, लमही गल्ली टोल विकास संस्था, आर्दश टोल विकास संस्था, आनन्द नगर टोल विकास संस्था हुदैँ कोलही टोल विकास संस्थाको खेति योग्य जमिनसंग जोडिएको छ । यस क्षेत्रका किसानहरु खेतमा धान रोपाइँका लागि खेतको तयारीमा जुट्ने क्रममा घाइते भएका धेरै उदाहरणहरु छन् । दिनभरिको हिलो र पानी खेल्ने क्रममा नरम भएको पैतालामा जोखिमयुक्त फलामे वस्तु गढेपछि दुःखाइ सहन नसकेर किसानहरु हिलोमा लड्ने गथ्र्ये । भित्रसम्म गढेको उक्त वस्तु निकाल्न बल प्रयोग गर्नुपरेको जनाउँदै घाइते किसानले टिटानसको सुई लगाएर औषधि खाँदै घरमै आराम गर्ने गरेको पाइयो । यस्तै भोगाइ थियो कृषक कमल नारायण चौधरीको । उनले भने,–। ‘चटियाको खेतमा रोप्ने क्रममा अचानक खुट्टाको पैतालामा चसक्क गर्यो हेर्दा सिसा गढेको रहेछ । उपचारमा खर्च पनि भयो, निको हुन समयसमेत निकै लाग्यो । लमही बजार क्षेत्रका फोहोर र घरमा उत्पादन भएका सम्पूर्ण वस्तु नहर हुदैँ बगेर आउने गरेकाले कतिखेर के हुन्छ भन्नै सकिँदैन थियो । अरुले गरेको गल्तीको सजाय कृषकले भोग्नुपर्ने अवस्था थियो ।’
मानव स्वास्थ्य र उत्पादनमा समेत असर गर्ने फोहर व्यवस्थापनाका लागि लमही नगरपालिकाले बेलैमा सोच्यो । यो किसानको लागि खुसिको कुरा हो । वर्षौदेखि यो समस्या यस क्षेत्रका किसानले भोग्दै आएका थिए, स्थानिय किसान मानेश्वर चौधरीले भने,–। ‘फोहरको जोखिमसँगै पछिल्ला केहीवर्ष नहर हुदैँ खलह खेतमा बगेर आएको फोहोर तथा प्लास्टिकले समेत दुःख दिने गरेको थियो । खेतमा पसेको फोहोर निकाल्दा दुई दिनसम्म शरीर चिलाउने गरेको समस्या हुने उनको भनाइ छ । विभिन्न झारसँगै आउने फोहरले धानखेतीलाई समेत पुरेर क्षति पु¥याउने गरेको थियो । यी कृषकहरू प्रतिनिधि पात्रमात्र हुन्, आसपासमा बचेखुचेका फाँटमा काम गर्ने कृषक वा कृषि मजदुरको हात तथा खुट्टामा चोट नलागेको भेट्न पाइँदैन । बिहान खाना खाएर काममा गएका मजदुर घाइते भएर अस्पतालसम्म पुग्ने गरेका छन् । धानखेती गर्दा मात्र होइन, पशुको लागि घाँस काट्दासमेत घाइते हुनुपरेको कृषकको भनाइ छ । लमही बजारको ढल कृपा मेडिकल नजिकै रहेको नहर हुदैँ आएर किसानको खेतीयोग्य जमिनमा सिधैँ जोडिएका कारण नालामा बगेर आउने फोहरसँगै जोखिमयुक्त विषाक्त वस्तु खेतमा आउने गर्दा किसानका जग्गा यतिखेर डम्पिङसाइटमा परिणत हुँदै गएकामा यस क्षेत्रका बासिन्दा चिन्तित बनेको थिए ।
यता लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले लमहीका मुख्य बजारका फोहर यस वडामा आउने गरेको बताउँदै नियन्त्रणका लागि जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको बताए । नगरपालिकाले फोहर वर्गीकरणलाई पहिलो प्राथमिकता दिँदै आएको छ, उनले भने,–। ‘सचेत नगरवासीले कुहिने र नकुहिने फोहर छुट्याएर तल्लो भागमा हुने जोखिम न्यूनीकरणमा सहयोग गर्नु अपरिहार्य छ ।’ खेतका प्रत्येक गरामा होस् वा बाटोमा फोहरसँगै फलामका टुक्रा, तार, सिरिन्ज, फुटेका सिसाका टुक्रा, बोत्तलले भरिएका छन्, उनले भने,–। ‘जोखिम बढेसँगै खेतमा धान रोप्नभन्दा बाँझै राख्न किसान बाध्य छन् । नहरमा आउने फोहरको व्यवस्थापन नहुँदा खेतमा काम गर्ने अधिकांश कृषकमा थप जोखिम बढेको थियो ।’ यता लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले नहर हुँदै बगेको फोहोरले तल्लो दक्षिण क्षेत्रका किसानलाई समस्यामा पारेकोबारे आफूहरूलाई जानकारी रहेको बताए । यस्तो फोहोर नियन्त्रण र व्यवस्थापनका लागि योजना बनाइरहेको उनको भनाइ छ । उनले घरबाट सिधै नहरमा फोहोर फाल्ने कुरा मानिसको प्रवृत्तिसँग जोडिएकोले यसमा सुधार गर्दै फोहोर व्यवस्थापनमा सहज पु¥याउने गरी कार्यक्रम अगाढि सारेको बताए ।उनले भने,–। ‘यस आर्थिक वर्षमा चटियाको खेतमा झरण नहर निर्माण २० लाख, खलह खेतमा नहर निर्माण २० लाख, लमही बजार ढल निकास १५ र लमही गल्ली ढल निकासको लागि १५ लाख गरि कुल ७० लाख बजेटबाट ३ सय ८० मिटर पक्कि मेशिनरि नहर निर्माण गरेका छौँ ।’ ‘लमही नगरपालिका वडा नम्बर ५ द्धारा सहरी साशकीय पूर्वाधार आयोजना मार्फत उक्त नहर कार्यान्वयनमा आएको हो । बाँकी रहेको नहर निर्माणको कामलाई अर्को वर्ष थप बजेट विनियोजन गरि उक्त नहरलाई लौटीया सोतामा खसाल्ने योजना रहेको छ ।’
त्यसैगरी लमही नगरपालिका वडा नम्बर ५ का वडासदस्य हरिराम चौधरीले नगरपालिकाभित्र उत्पादन हुने जैविक र अजैविक फोहोर नछुट्याउँदा पनि यस्तो समस्या आएको बताए । उनले घरबाटै जैविक र अजैविक फोहोर छुट्याएर अलग–अलग व्यवस्थापन गर्न सके समाधान हुने बताए । उनले जोखिमयुक्त क्षेत्रमा गमबुट, पञ्जालगायतका सुरक्षा सामग्रीको प्रयोग गर्न कृषक वर्गलाई अनुरोध गर्दै, फोहरको उचित व्यवस्थापन गर्न सकेमात्र पनि कृषक सुरक्षित तवरले कृषि पेसामा लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विशेषगरी प्रयोग गरेका सिरिन्ज जथाभावी फालिदिँदा वातावरणसँगै मानवीय स्वास्थ्यमा समेत गम्भीर समस्या सिर्जना हुने गरेको उनको भनाइ छ ।






