खड्गप्रसाद ओली अर्थात् झुटको ‘महानायक’

उज्यालो प्रतिनिधि १७ पुष २०७७, शुक्रबार BOX NEWS

काठमाडौं । शुक्रबार आफू निकटका प्रवासी नेपाली एकता मञ्चका कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेकपाको आधिकारिकता र चुनाव चिह्न ’सूर्य’ माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन ’कानुनी रित नपुगेकाले फिर्ता गरिएको’ बताए ।

‘आधिकारिक पार्टी हामी नै हौं । हामी सडकमा गएर निर्णय गरिराखेका छैनौं । यो पार्टी कसले निर्माण गर्यो, को आधिकारिक हो भन्ने कुरा बहस गरिराख्नुपर्ने विषय हो र ? अर्को कुरा सूर्य कसको हुन्छ भन्ने, सूर्य हाम्रै हुन्छ । हामी नै आधिकारिक हौं त कसको हुन्छ ? सूर्य चिह्न २०४८ सालदेखि लिएको हो । कोही एकदुई जना मान्छेहरू अलग भए भन्दैमा सूर्य चिह्न उहिल्यैदेखि हामीले लिएको कतै जान्छ भन्ने विषय होइन,’ खड्गप्रसादले त्यसअघि भने, ‘उहाँहरू (दाहाल(नेपाल पक्ष)ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ । निर्वाचन आयोगले हिजो (बिहीबार) उहाँहरूको निवेदन रित नपुगेको र अनुचित भनेर रद्द गरेर फिर्ता पठाइदियो ।’

तर, केही समय नबित्दै खड्गप्रसादको यो बोली ‘झुट’ मा परिणत भएको छ । र, खड्गप्रसाद फेरि एकपटक जनताको अगाडि ‘झुट’ को महानायक बनेका छन् ।

खड्गप्रसादको ‘झुटो’ सम्बोधनपछि निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको निवेदनमा कुनै निर्णय नभएको बताए । निर्णय भएको भए आजसम्म आफूलाई जानकारी भइसक्नुपर्नेमा कुनै जानकारी नभएको बताए । त्यतिमात्रै होइन, आयोगको राजनीतिक दल र कानुनसम्बन्धि शाखाका कानुन उपसचिव गंगाबहादुर खरेलले भने नेकपाको निवेदनको विषयमा कुनै निर्णय नभएको बताए ।

यो त, खड्गप्रसादको ‘ताजा झुट’ मात्रै हो । खड्गप्रसादले आफ्नो पार्टी नेकपाको आन्तरिक जीवनमा देखिएको अन्तरसंघर्ष र नेकपाले जनतासँग मत मागेका कैयन् विषयमा यस्ता सयौँ झुट बोलेका छन् । ती झुटहरुले भन्छ, खड्गप्रसाद झुटको महानायक हुन् । खड्गप्रसादका यसबाहेक केही झुटको श्रृंखला हेरौँ ।

पहिलो झुट : घरघरमा ग्यासको पाइप, सिलिण्डरको फेज समाप्त
२०७२ साल पुस २४ गते शुक्रबारको कुरा हो । तत्कालीन एमाले कार्यकर्तामाझ उभिएर एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले अलिकति समय पाएँ भने सिलिन्डरको फेज नै समाप्त पारिदिन्छु । पाइपबाट घरघरका चुलोमा ग्याँस पु¥याइदिन्छु । त्यसपछि सिलिण्डर काँधमा बोकेर हिँड्नै पर्दैन ।’

त्यसपछि राजनीतिक दाउपेचमा पनि ओलीले यो विषय उठाइरहे । तर, आजसम्म न सिलिण्डरको फेज समाप्त भएको छ, न घर–घरमा ग्यासको पाइप नै पुगेको छ ।

दोस्रो झुट : ‘पुसदेखि पानीजहाज चढेर कलकत्ता जान पाइन्छ’
२०७५ साल असार १४ गते बिहीबार मदन भण्डारीको ६७ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजजित् कार्यक्रममा ओलीले भने, ‘आगामी पुस १६ गते पानीजहाज चढेर कलकत्ता जान सकिन्छ, नेपालको पानीजहाजलाई कलकत्तामा स्वागत हुन्छ ।’

उनको भनाई थियो, ‘सप्तरीको हनुमाननगरदेखि भारतको कलकत्तासम्म पानीजहाज चलाउने सरकारको तयारी छ, हिजो विरोध गर्नेको स्वर रेकर्डेड छ, कागजका डुंगा चलाउनेले त्यसपछि के गर्छन् ?’

तर, आजसम्म न पानीजहाज सञ्चालनमा आयो, न कलकत्तामा स्वागत नै भयो । खड्गप्रसादले बोलेपछि पुस १६ तीनपटक आइसक्यो, उनको यो बोली कार्यान्वयन भएन ।

तेस्रो झुट : पार्टीभत्र झुटै–झुट
खड्गप्रसादले पार्टीभित्र कति झुट बोलेका छन् ? त्यसको साक्षी पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहित उनी निकटका नेताहरु छन् ।

र, अहिले प्रचण्डले बताएका पछिल्लो तर्क मात्रै यहाँ समेटौँ । प्रचण्डका अनुसार २०७७ पुस ५ गते बिहान साढे ५ बजे उनको कानमा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्न लागेको खबर पस्यो । लगत्तै प्रधानमन्त्रीलाई उनले फोन गरे, र भेटको चाँजोपाँजो मिलाए । तर, प्रधानमन्त्रीलाई हतारहतार मन्त्रिपरिषद बैठक बोलाए, फेरि प्रचण्डले भेटको चाँजोपाँजो मिलाएर बालुवाटार दौडिए, तर प्रधानमन्त्रीबाट संसद विघटनको सिफारिस भयो ।

त्यसअघि पार्टीलाई छलेर अध्यादेश ल्याउने प्रकरण मात्रै होइन, २६ भदौ २०७७ मा भएको नेकपाको स्थायी कमिटि बैठकसहित त्यसअघिका संस्थागत निर्णयहरु खड्गप्रसादले कति माने कति मानेनन्, त्यो ओलीलाई नै थाहा होला, हामीले पनि देखेका छौँ ।

र, जनतासँग पनि झुट
खड्गप्रसादले वाम गठबन्धनपछि भएका निर्वाचनयता कति झुठ बोलेका छन् ? त्यसको रेकर्ड सञ्चारमाध्यममा छन् । स्थिर सरकारको नाममा भोट मागेर ओली आफैँले संसद विघटनको सिफारिस गरे । नेकपाले लेखेको घोषणापत्रको अक्षर कार्यान्वयन त परेका कुरा भइहाल्यो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार