भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको बताएका छन् । उनले केपी ओली भ्रष्टाचारीको नाइके भएको आरोप लगाए ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति जिल्ला कार्यसमितिले सोमबार भैरहवामा आयोजना गरेको विरोध प्रदर्शन पश्चात सभालाई सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडललाई तनहुँमा पुल उद्घाटन जाने क्रममा पक्राउ गरेकोप्रति इंगित गर्दै पाण्डेले भनेर्,‘प्रहरी प्रशासन कानुनको बर्खिलाप जान मिल्दैन, तनहुँको घटनाले प्रहरी प्रशासनमाथि प्रश्चचिन्ह खडा भएको छ, कानूनसम्मत हिड्नुस्, कम्युनिष्ट सरकारको आदेश मान्नुभन्दा पनि कानुन र विधि अनुसार नै अगाडी बढ्नुस् ।’
उनले हालका कृषिमन्त्री घनश्याम भुसाललाई किसानको समस्या समाधान गर्नु भन्दा आफु मन्त्री भएर प्रधानमन्त्री केपी ओलीको सत्ता बचाउने चिन्ता रहेको दावी गरे । नेता पाण्डेले किसानले समयमै मलखाद नपाउँदा पनि सरकारको त्यसतर्फ ध्यान नगएको बताए ।
उनले विष्णु प्रसाद पौडेलले प्रदेशको राजधानी अर्थमन्त्री पदसंग साटेको समेत आरोप लगाए । महामारीमा पनि सरकार गम्भिर नभएको उनको भनाइ छ ।
‘राष्ट्रपति नेकपाको नेता कार्यकर्ता बन्नुभएको छ, पार्टीको नेता बन्ने भए राष्ट्रपति पदबाट राजीनामा दिनुस्, उनले भने ।
राष्ट्रियतामा खतरा आएकोले सबै प्रजातन्त्रवादी एकै ठाउँमा आएर सरकारविरुद्ध नारा घनकाउनुपर्ने आवश्यकता रहेको उनले बताए । सरकारप्रति जनताको निराशा बढेको उनले बताए । अब यही क्रम अगाडी बढिरहे आगामी दिनमा कम्युनिष्ट सरकार समाप्त हुने नेता पाण्डेले दावी गरे ।
‘सडकमा जुन राजतन्त्रको नारा, गणतन्त्रविरुद्धको नारा लगाइएको छ, यो आक्रोश तपाई केपी ओलीप्रति हो, व्यवस्थाप्रति होइन,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्रले पर्दा पछाडी खेल खेलेको भन्दै राजनीति गर्न चाहना भए पार्टी खोलेर प्रतिष्पर्धामा आउन उनले आग्रह गरे ।
त्यस्तै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले प्रचण्ड, माधव नेपाल र केपी ओलीबीच सैद्धान्तिक झगडा नभइ भ्रष्टाचारको झगडा भएको बताए । उनले कम्युनिष्ट पार्टीका नेताहरुले देशलाई बर्बाद गर्न खोजेको आरोप लगाए । ‘हामी अब सहेर बस्दैनौ, एक÷एक क्रियाकलाप उजागर गर्छौ, जनताको सामुने उभ्याउँछौं, ब्रम्हलुट गर्न जनताले कर तिरेका होइन,’ शाहले भने । उनले नेकपा सरकारको गतिविधिप्रति सरकार रुष्ट भएको बताए ।
‘किसानले मल पाएका छैनन्, भारतबाट एक÷दुई बोरा मल ल्याउँदा प्रहरीले मल खोस्छ, जनतालाई दुःख दिनेविरुद्ध कांग्रेस अब प्रतिकारमा उत्रिन्छ उनले भने । आगामी निर्वाचन कांग्रेसले जित्ने उनले दावी गरे ।
कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले खोक्रो राष्ट्रवादको खोल ओढेर कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । उनले आगामी निर्वाचनमा कांग्रेसको दुईतिहाई बहुमत आउने र एकएक हिसाब गर्ने चेतावनी दिए ।
‘कम्युनिष्ट जस्तो तोडफोडमा कांग्रेसले विश्वास राख्दैन, उनले भने ।’ कम्युनिष्ट सरकार नागरिकप्रति संवेदनशील नभएको उनको भनाइ थियो ।
कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले कांग्रेस लोकतन्त्रको पहरेदार भएको बताए । उनले आगामी निर्वाचनमा कम्युनिष्टको नाम निशान नरहने दावी गरे ।
प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले मुलुकमा भ्रष्टाचार बढेको बताए । उनले सरकारले किसानलाई मलखाद उपलब्ध गराउन नसकेको बताए ।
संविधानसभा सदस्य तथा कांग्रेसका नेता इस्तियाक अहमद खानले मुलुकमा महिला हिंसा बढेको बताए । उनले कांग्रेसलाई जनताले जिताए विकास तीव्र गतिमा अगाडी बढेको बताए ।
कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्रीले जनताले सरकारको अनुभुति गर्न नसकेको बताए । उनले कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्ने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले वर्तमान सरकार सबैसंग मिलेर जानुपर्नेमा उल्टै नेकपाभित्रैको आन्तरिक लडाइले समस्या निम्तिएको बताए ।
कांग्रेस रुपन्देहीका सभापति अब्दल रज्जाकको सभापतित्व, उपसभापति सरिता चौधरीको स्वागत तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासनविरुद्ध प्रदर्शन गरिएको कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए ।
भैरहवाको बुद्धचोकबाट निस्केको विरोध ¥याली नयाँसडक, देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागि कांग्रेसका नेता कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाएका थिए ।






