कोरोना एक वैश्विक चिन्ताको बिषय बनेको छ । एकैसाथ सारा संसारलाई प्रभावित पार्ने यो विषाणुको बिषयमा सर्वाधिक चर्चा,परिचर्चा,बहस र अनुसन्धान भैरहेका छन् ।
प्रारम्भमा,चिनको वुहानबाट यो विषाणु संसारभरी फैलँदै गर्दा र महाशक्ति भनिने अमेरिका लगायतका पश्चिमा मुलुकहरूमा ठूलो संख्यामा मान्छे मर्दैगर्दा,कोरोना भाईरसको उत्पत्तिको बिषयलाई लिएर अमेरिका र चीनको बीचमा एक अर्कालाई दोषारोपण गरिएको समाचार पनि सुनिएकै हो,पढिएकै हो।
पछिल्लो समय,कोरोनाको भ्याक्सिन बिकास गर्नुपर्ने चुनौती,चुनौती भन्दापनी प्रतिस्पर्धाको रूपमा अगाडी आएको छ। स्वस्थ प्रतिस्पर्धालाई अहिलेको वैश्विक बजार ब्यवस्था बमोजिम पनि अनुपयुक्त ठान्न मिल्दैन तर यो प्रतिस्पर्धा असाध्यै अस्वस्थ प्रकारको देखिन्छ ।
कोरोनाको खोप कसले पहिले ल्याउने भन्ने कुरामा शक्तिशाली राष्ट्रहरू युद्धकालीन अवस्थामा झैं जुटिरहेका देखिन्छन् । ठूला तथा शक्तिशाली राष्ट्रहरूको कार्यशैली र मनोदशा हेर्दा यस्तो लाग्छ मानौं,तीनको प्रयोगशालामा भ्याक्सिन हैन,शक्तिको परिक्षण र युद्धको बिकास भैरहेको छ।यो वैश्विक शान्ति र अमनचयनको हिसावले पनि गम्भीर चिन्ताको बिषय हो।
द्वितीय विश्वयुद्ध पश्चात् परस्पर बिरोधी राजनैतिक दर्शन बोकेका संयुक्त राज्य अमेरिका र तात्कालिन सोवियत संघबीच चलेको द्वेषपूर्ण शीतयुद्ध (Cold War) सोवियत संघको बिघटन पश्चात् समाप्त भएको थियो, तर यतिबेला कोरोना भ्याक्सिनको नाममा भईरहेको अवान्छित प्रतिस्पर्धा र त्यसैमा आधारित बहुआयामिक दवाब र प्रभावहरू जसरी सतहमा प्रकट भैरहेका छन् ,त्यो चाहिँ शीतयुद्धकै बिशेषता बोकेको खोप-युद्ध ( Vaccine War) को नामले राजनीती शास्त्रको शब्दकोषमा नयाँ शब्दको रूपमा स्थापित भयोभने आश्चर्य नमाने हुन्छ।
अमेरिकाको जर्जटाउन युनिभर्सिटीमा ‘ग्लोबल हेल्थ ल’का प्रोफेसर रहेका लरेन्स गोस्टिनले यो अस्वस्थ प्रतिस्पर्धालाई धेरै निकट रहेर नियाँलेको बताउँदै उनी भन्छन् “मैले आफ्नो जीवनमा,कुनै मेडिकल प्रोजेक्टको लागि यति गम्भीर राजनैतिक दावेदारी र चलखेल देखेकै थिईन” । विश्व स्वास्थ्य संगठन (WHO)का महानिर्देशक टेड्रस अडहानोमले गत: १८ अगस्टका दिन सम्बोधन गर्दै,राष्ट्रहरूलाई “भ्याक्सिन-राष्ट्रबाद”बाट बच्न सुझाव नै दिएका थिए। यसबाट समेत कोरोना भ्याक्सिनको बिषयलाई कसरी प्रतिष्ठाको बिषय बनाईएको छ र अस्वस्थ प्रतिस्पर्धाले ठाउँ लिईरहेको छ भनेर बुझ्न सघाउँछ।
सन् १९५७ मा तात्कालिन सोवियत संघले आफ्नो स्पुत्निक-१ नामक भूउपग्रह अन्तरिक्षको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेपछी अर्को महाशक्ति अमेरिकाको लागि यो कुरा फलामको च्युरा चपाए सरह कठिन भएको थियो। ख्रुस्चेभको नेतृत्वमा रहेको तात्कालिन सोवियत संघले अन्तरिक्षमा प्राप्त गरेको ऐतिहासिक सफ़लताको कारण सोवियत संघ र कम्युनिस्ट शासनको प्रभाव ब्यापकरूपमा बढ्न गएको थियो। बढ्दो सोवियत प्रभावबाट अताल्लिएका तात्कालिन अमेरिकी राष्ट्रपती आईजेनहावरले अमेरिकालाई सोवियत संघको हाराहारी पुर्याउन सारा तागत खर्च गरेर सन् १९५८ मै एक्सप्लोरर नामक अमेरिकी भूउपग्रहको अन्तरीक्षमा सफल प्रक्षेपण गरेका थिए।
आजभन्दा करिब ६४ बर्ष अघी रचिएको ऐतिहासिक अन्तरिक्ष विजयको किर्तिमानकै झल्को दिनेगरी, अर्को अध्याय प्रारम्भ गर्न यतिबेला रूशी राष्ट्रपति ब्लादिमिर पुटिन हात धोएर लागेका छन्। अर्कोतर्फ ,आगामी चुनावको निम्ति आफ्नो ‘फेस सेभिङ्ग’ गर्दै अमेरिकी वर्चश्वको झण्डा गाड्न अमेरिकी राष्ट्रपति ट्रम्प, कोरोना भ्याक्सिनलाई प्रतिष्ठाको लडाईँ बनाएर हिंडेको देखिन्छ।
गत: अगस्ट ११ तारिखको दिन,एक असाधारण घोषणा गर्दै रूशी राष्ट्रपति पुटिनले “विश्वमै पहिलोपटक कोरोना भाईरस बिरूद्ध एउटा खोप रूसमा दर्ता भएको” जानकारी दिंदै त्यस खोपको नाम स्पुत्निक- V राखिएको बताएका थिए। रूसले छोटो अवधिको ट्रायलमै कोरोना बिरूद्धको खोप निकालेकोमा विश्व स्वास्थ संगठन लगायत अमेरिका र पस्चिमी जगतले यसको प्रभावकारीतामा प्रश्न उठाएपनी रूसले भने त्यस्ता तमाम प्रश्न र आशंकाहरू खारेज गर्दै,खोप अत्यन्तै प्रभावशाली भएपनी रूसप्रतिको ईर्ष्या र द्वेषका कारण यस्ता प्रश्न उठाईएको रूसले बताएको छ। रूसले आफ्नो खोपको नाम स्पुत्निक-V राख्नुले,यसलाई रूसले आफ्नो शक्ति र प्रभावको पुनरूत्थानको रूपमा मौजुदा पश्चिमी शक्ति केन्द्रहरूलाई एक चुनौती दिएको रूपमा विश्लेषण गरिएको छ।
कोरोना बिरूद्धको खोप निर्माण गर्ने काम र यससंग जोडिएर आएका अस्वस्थ प्रतिस्पर्धाको यो कथा द्विपक्षीय मात्र छैन,अपितु बहुपक्षीय छ।विश्व स्वास्थ्य संगठनले जनाए अनुसार हाल संसारमा कम्तिमा आधा दर्जन खोपको अन्तिम ट्रायल चलिरहेको छ जसमा,चिनमा ३ वटा,ब्रिटेन र अमेरिकामा एक एक वटा तथा अमेरिकी-जर्मन संयुक्त प्रयासमा एउटा खोपको अन्तिम ट्रायल चलिरहेको बताईन्छ। यसक्रममा,चीन र अमेरिका बीचको प्रतिस्पर्धा जगजाहेर नै छ। उता भारतले आफ्नो खोपको कुनै टुङ्गो लाग्नुपुर्व नै खोप बितरणको हौवा फिंजाएर,यो अभियानमा आफ्नो देश पनि पछि नरहेको सन्देश दिन खोजेको छ। हालैका दिनमा भारत आफ्नो चीर प्रतिद्वन्दी चीनसंग सीमा बिवादमा रक्षात्मक रहेको कुण्ठा छोप्न पनि,कोरोना खोप बिकास गर्ने काममा चीन भन्दा धेरै पछाडी नरहेको रणनैतिक महत्वको सन्देश दिन चाहिरहेको छ।
त्यसो त खोप बिकास गर्ने कार्य एक जटील र लामो समय लाग्ने प्रकृया हो। उदाहरणका लागि हालसालै मञ्जुरी मिलेको ईबोला भाइरस बिरूद्धको खोपको बिकास गर्न १६ बर्ष लागेको थियो। यहि कारणले गर्दा,रूसको तिब्रता प्रती सन्देह उब्जिएको पस्चिमी देशहरूको दावी छ। लेट-स्टेज ट्राईल नै नगरी रूसले खोप ल्याउन हतार गरेको भन्दै पस्चिमी देशहरूले रूसको कडा आलोचना गरेका छन् ।गत: जुलाईमा अमेरिका,बेलायत र क्यानाडाले संयुक्त रूपमै रूसमाथी खोप अनुसन्धानको जानकारी ह्याक गरेको आरोप समेत लगाएका थिए। यस्तै ‘यु.एस.डिपार्टमेन्ट अफ जस्टिस’ले चिनियाँ जासुसी संस्थाका दुईजना ह्याकरहरूले आफ्नो सुचना ह्याक गरेको गम्भीर आरोप लगाएकोमा चीनले यो आरोप ठाडै अस्विकार गरेको थियो।
भारतिय उपमहाद्विपको शक्तिशाली मुलुक भारतको खोप कुटनीती पनि उल्लेख्य छ। केही साता अघिमात्र चीनले आफ्नो भ्याक्सिन ‘ह्युमन ट्राईल’का लागि बंगलादेशलाई अनुरोध गरेकोमा,बंगलादेशले अस्विकार गरिदिएको थियो। यो घटनाबाट उत्साहित बनेको भारतले तत्कालै आफ्नो बिदेश सचिव हर्ष श्रृंगलालाई विशेष दुतको रूपमा बंगलादेश पठाएर आफ्नो तयार नै नभईसकेको कोरोना खोप बंगलादेशलाई उपलब्ध गराउने आश्वासन दिएको थियो।बंगलादेशका अतिरिक्त भारतले मालदिभ्स,श्रीलंका र भुटानलाई समेत यस्तो प्रस्ताव गरेपनी,नेपाललाई भने प्रस्ताव गरेको छैन।
नेपाल संग रोटी बेटीको सम्बन्ध रहेको दलील पेश गर्दै यसैलाई पारस्परिक सम्बन्धको सेतु बताउँदै आएको भारतले नेपाललाई कोरोना खोपको आश्वासन दिन अनिच्छा गर्नुको कारण प्रष्ट छ। नेपालले नयाँ नक्सा जारी गरेकोमा चिढिएको भारत,अन्य साना छिमेकीहरूलाई कोरोना खोपको आश्वासन दिएर नेपाललाई पाठ पढाउने रणनीतिमा लागेको देखिन्छ। नेपाल सरकारले भने भारतसँग प्रारम्भिक चरणमै कोरोना खोप प्राप्त गर्न दिल्ली स्थित आफ्नो दुतावास मार्फत पहल बढाएको बुझिएको छ।
विश्व राजनीतिक मञ्चमा प्रभाव राख्ने शक्तिशाली राष्ट्रहरू कोरोना बिरूद्धको खोप छिटोभन्दा छिटो ल्याउन सक्नुलाई आफ्नो राष्ट्रिय सम्मान, राष्ट्रिय शक्ति र प्रभावको रूपमा बुझिरहेका छन् । जसले गर्दा खोप बिकासको कार्यलाई चिकित्सकिय कर्म भन्दापनी राजनैतिक वर्चश्व कायम राख्ने अत्यावश्यक औजारको रूपमा बुझ्न थालिएको देखिन्छ। यस्तो लाग्छ,शक्तिशाली राष्ट्रहरू मेडिकल ल्याबमा हैन,द्वन्दको प्रयोगशालामा कोरोना भ्याक्सिन नामक क्षेप्यास्त्र बनाउन जोडतोडले जुटिरहेका छन् ।






