रहेनन्, जनताका डाक्टरसाहेव

१६ श्रावण २०७७, शुक्रबार १०:४४ मा प्रकाशित

आम जनसमूदायबाट ‘डाक्टर साहेव’को नामले ख्याती कमाएका डाक्टर सत्यनारायण महतोले ८३ बर्षको उमेरमा यो धर्ती छोड्दै गर्दा साराको मन बिझायो,आँखा रसायो। डाक्टर सत्यनारायण महतो निरन्तर जनसेवाको अर्को नाम बनेर स्थापीत भएको थियो।

‘शहरको सुविधा हैन,ग्रामिण जनताको सेवालाई सर्वोपरी ठान्ने डाक्टर सत्यनारायण वास्तवमा जनताका डाक्टर थिए। आफ्नो पेशा मार्फत उनले जनसेवा मात्रै गरेनन् ,मुलुकको लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनमा समेत यथेष्ट योगदान दिए। वैचारिक रूपमा लोकतान्त्रिक धारको भएपनी दस बर्षे जनयुद्धको क्रममा जनयुद्धका अनेकौं घाईतेको उपचार गरेर उनले सहयोग गरेको’ नेकपा स्थायी समिति सदश्य तथा धनुषाको यसै क्षेत्रबाट प्रतिनिधि सभा सदश्य समेत रहेका नेता मातृकाप्रसाद यादवले यो पंतिकारलाई बताउनु भयो। डाक्टर साहेव आफू स्वयं जमिन्दार परिवारको भएपनी वहाँमा अहंकार थिएन। जनसेवाको भावना थियो। मातृका यादवले दिवंगत डाक्टर साहेवको स्मृतीमा वहाँको क्लिनिक भएको ठाउँमा वहाँको सालिक निर्माण गर्ने आफ्नो चाहना भएको समेत बताउनु भयो।

धनुषा जिल्लाको दक्षिण-पूर्वी क्षेत्रमा पर्ने सबैला नगरपालिका अन्तरगतको ठिल्ला गाउँमा बिगत ५० बर्ष देखि अनवरत चिकित्सा सेवा प्रदान गरेर सिमावर्ती सिराहा,महोत्तरी,सिंधुली र यहाँसम्म कि सिमापारबाट आउने भारतिय नागरिकहरू समेतलाई सन्तुष्ट तुल्याउन सफल डाक्टर सत्यनारायण अनवरत सेवा र निष्ठाका दुर्लभ पात्र थिए। त्यसैले उनको निधनमा सबैले चित्त दुखाए,रोए र उनको सेवाभावको स्मरण गरे।

नेपालमा उतिबेला चिकित्सा शास्त्रको अध्ययन गर्ने सर्वसुलभ थलो नै थिएन।डा.महतोका पीता सीताराम महतो,जो स्थानीय जमिन्दार थिए,छोरालाई डाक्टर बनाउने ईच्छाका साथ उनलाई भारत बिहारको दरभंगा मेडिकल कलेजमा भर्ती गराए। महतोले २०२६ मा एम.बी.बी.एस. सिद्याएर केही समय दरभंगामै मेडिकल प्राक्टिस गरे।आफ्नो पीताको सदिच्छा अनुसार आफ्नै गाउँठाउँमा सेवा गर्ने उद्देश्यले ऊनी नेपाल फर्किए। बि.सं. २०२७ मा नेपाल मेडिकल काउन्सिलबाट अनुमती लाईसेन्स (नं-२०६) प्राप्त गरी आफ्नै गाउँमा मृत्युपर्यन्त सेवारत रहे। “उतिबेला जनकपुर सहरको रूपमा बिकसित हुँदै थियो। जनकपुरमा त्यतिबेला केवल दुईजना मात्र चिकित्सकहरू रहेकोले जनकपुरमै सेवा गर्न धेरैले सुझाव दिएपनी उनले गाउँ नै रोजे” सम्बन्धित वडाका वडाध्यक्ष श्री दुर्गा रायले बताउनु भयो।

चिकित्सकहरूले आफ्नो सेवा शुरू गर्नुपूर्व लिनुपर्ने ‘हिप्पोक्रेट ओथ” अर्थात सपथ लिंदा जनताको सेवा गर्ने कसम खाएका हुन्छन् । देशको चिकित्सा क्षेत्र हेर्दा,यो सेवा भन्दा बढी पेशाको रूपमा बिकृत भएर गएको छ। डाक्टर महतो आफ्नो सपथबाट कहिल्यै बिमुख नभैकन सेवारत रहे। ‘हरपल सेवाको लागि उद्दत रहने र गरिब दुखिलाई सकेसम्म सुलभ सेवा दिने डाक्टर महतो धेरैका लागि भगवान तुल्य थिए” शिक्षक महासंघका केन्द्रिय सदश्य समेत रहेका स्थानीय शिक्षक दिनेशकुमार रायले बताउनु भयो।

स्थानीय श्री सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक श्री नथुनी साह डाक्टर महतोको हँसिलो र मिलनसार स्वभावको स्मरण गर्दै आफ्नो बिद्यालयमा डाक्टर महतोले नीजी खर्चमा भौतिक संरचना निर्माणका साथै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको र आफ्नो अति ब्यस्तताको वाबजुद पनि, बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षको रूपमा बिद्यालयलाई गुण लगाएको बताउनु हुन्छ।

जेनरल फिजिसियनको रूपमा डाक्टर महतोले सेवा नपुर्याएको कुनै क्षेत्र छैन।प्रसुती सेवा देखि हाडजोर्नी अनि सर्पदंशको उपचार देखि प्याथोलोजीको काम समेत असाध्यै दक्षताको साथ सम्पन्न गर्न सक्नु वहाँको बिशेषता नै थियो। शहरका ठूला अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरू समेतले डाक्टर महतोको सेवा पाएर पुनर्जीवन पाएको अनगिन्ती उदाहरण पाईन्छ। सहरको सुविधामा रमाउनुको साटो आफ्नै दुर्गम गाउँठाउँमा रहेर आधा शताब्दी अनवरत जनसेवा गरेका डाक्टर सत्यनारायण महतोले गत: श्रावण २ गते ८३ बर्षको उमेरमा देहत्याग गरे। यस्ता कर्तब्यनिष्ठ चिकित्सकलाई राज्यले समुचित सम्मान गर्न नसक्नु दुखको कुरो हो।जनताको सेवामा जीवन उत्सर्ग गर्ने डाक्टर सत्यनारायण महतो प्रती १३औं पुण्यदिनको अवसरमा भावपूर्ण श्रद्धाञ्जली ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार