काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कार सहितको सम्मान गर्ने घोषणा गर्नु भएको छ ।
मन्त्री गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुनेगरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने बताउनु भएको हो । गैर आवासीय नेपाली संघ, युकेद्धारा शनिबार (आज)आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’विषयक‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले कोरोना भाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भईरहेको पनि बताउनु भयो ।
मन्त्री गुरुङले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’मा जोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि स्मरण गराउनु भयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनिप्रवासमा रहेका महिला नेतृहरुलाई आग्रह पनि गर्नु भयो ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आयआर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग मागगर्नु भएको थियो । त्यसैगरी गैर आवासीय नेपाली संघ, यूकेकी अध्यक्ष पुनम गुरुङसहित गैर–आवासीय नेपाली संघमा आवद्ध महिला नेतृहरुले कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मान पूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकाथिए ।






