डि बि संघर्ष /रोल्पा
रोल्पाको सुनिलस्मृति गाउँपालिकामा किशोर–किशोरीको नेतृत्व विकास, बाल अधिकार संरक्षण तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले तथ्यमा आधारित पैरवी तथा समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ।
सुनिलस्मृति गाउँपालिका वडा नं. १, ३, ५ र ६ का वडा स्तरीय किशोर–किशोरी सञ्जालहरूको आयोजना, Stromme Foundation को आर्थिक सहयोग तथा सुनिलस्मृति गाउँपालिका र सहास नेपालको समन्वय/सहकार्यमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्यतामा गाउँपालिका सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज इन्स्पेक्टर अनिल कुमार चौधरी, गाउँपालिकाका सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर थापा, सम्बन्धित वडाका वडाध्यक्षहरू, शिक्षक, सञ्चारकर्मी, किशोर–किशोरी सञ्जालका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा बाल अधिकार, बालविवाह न्यूनीकरण, किशोर–किशोरीको अर्थपूर्ण सहभागिता, तथ्यमा आधारित पैरवी तथा स्थानीय तहको भूमिकाबारे समीक्षा र अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले समुदायमा रहेका सामाजिक समस्याको समाधानका लागि तथ्यमा आधारित योजना, प्रभावकारी समन्वय र सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमले किशोर–किशोरीको आवाजलाई स्थानीय नीति तथा विकास प्रक्रियासँग जोड्दै बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ।















