विकासको नमूना बन्दै बागमती नगरपालिका

१३ असार २०७७, शनिबार १५:४७ मा प्रकाशित

केही महिना अघि यो पंतिकार आफन्त भेट्न भनेर सर्लाही जिल्ला पुगेको थियो। मोटरबाईकमा पछ्डीपट्टी श्रीमतीज्यूलाई राखेर साली भेट्न सालीको घर राजघाट सर्लाही हिंडेको मलाई,पूर्वपश्चिम राजमार्गको सर्लाही खण्डमा पर्ने नयाँ रोड- पुतलीचोकदेखी दक्षिण तर्फको यात्रा शुरू गरेको केही समय पश्चात् नै मनमा केही फरक अनुभुती हुन थाल्यो,त्यही फरक अनुभुतिको अभिव्यक्ति वा बयानको रूपमा यो आलेख यस रूपमा आएको हो।

हुनत बाटोले मान्छेलाई गन्तब्यमा पुर्याउँछ भनिन्छ तर मलाई बाटोले पटक-पटक झुक्यायो।सालीज्यूको घर पुग्नै हामीलाई हम्मे हम्मे पर्यो।पहिले-पहिले बाटो नबिराईकन सहजै सालीको घर पुगिन्थ्यो,यसपटक चाहिँ फनफनी घुमायो। चारैतिर बाटैबाटो बनिसकेको रहेछ।कन्जुस्याइँ नगरीकन बनाईएका बाटाघाटाहरूले हामीलाई पटक-पटक झुक्याएपछी मैले श्रीमतीज्यूलाई भनें-” सरिता ! हेर कुनचाहिं पागलले यसरी बाटो बनाएछ है? उनी हाँसिन् । मैले भनें नेपालमा भलाद्मी र बुझक्किले सकेजती बाटो बिगार्छ। हेर सरिता ! बाटो बनाउने भनेकै पागलले हो। यहाँपनी कुनै पागल जन्मिसके जस्तो छ।

सालीको घरमा पुग्नासाथ त्यस क्षेत्रमा नवबिकसित ब्यवस्थित बाटोको बारेमा मैले जिज्ञासा राख्दा मेरो साढुभाईले यो सब नगरपालिकाको देन भएको बताउँदै,यसको श्रेय नगरपीता भरतकुमार थापालाई जाने बताए।बाटोघाटो मात्र हैन,धेरैथोक नयाँ नयाँ भैरहेको समेत भाईले जानकारी गराए। राम्रो काम गर्ने कर्मबीरलाई कामले साथ दिन नसकेपनी कलमले साथ दिनुपर्ने अठोटका साथ मैले, मेयर थापालाई भेट्ने निर्णय गरें। सर्लाही शंकरपुर निवासी मेरा ब्यापारिक साझेदार समेत रहनुभएका मित्र श्री ओमबहादुर कार्कीज्यू संग भेट गर्नुपर्ने थियो। वहाँलाई सम्पर्क गरें, थाहा भयो वहाँ त त्यही बाग्मती नगरपालिकामा शिक्षा-शाखा सहजकर्ताको रूपमा कार्यरत हुनुहुँदो रहेछ। अझ खुसी लाग्यो।

बाटो-बाटोमा रोक्किंदै जन-साधारण जनताहरूसंग नगरपालिकाको कामबारे जिज्ञासा राख्दै आम जनताको मन छाम्दै अघि बढियो। विभिन्न उमेर समूहका,फरक-फरक पेशा ब्यवशाय गर्ने करिब दुई दर्जन महिला-पुरूषहरूसंग वार्तालाप गरेपछी मेरो मनमा अझबढी कौतुहलता बढ्यो। सबैले एक मत र एक आवाजमा नगरपालिकाको कामको प्रशंसा गरे। अझ भन्नुपर्दा,नगरप्रमुख थापाको मुक्त कण्ठले प्रशंसा गरे। मेरोलागी यो एक अद्भुत अनुभुती थियो।

मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मोक्तान नेतृत्वको यो टिम तात्कालिन नेकपा माओबादी केन्द्रको उम्मेदवारको रूपमा ९ जना वडाध्यक्ष सहित जितेर नगरपालिका प्रवेश गरेको थियो भने तात्कालिन नेकपा एमालेको तर्फबाट ३ जना वडाध्यक्ष सहितको जननिर्वाचित प्रतिनिधि रहेकोमा,ती दुई पार्टी बीच एकीकरण पश्चात् यतिबेला बाग्मती नगरपालिकामा नेकपाको सम्पूर्ण बर्चश्व सहितको स्थानीय सरकार विद्यमान रहेछ। बि.सं. २०५० सालमा अखिल क्रान्तिकारी सर्लाही जिल्ला सदश्यको हैसियतमा राजनीती अघि बढाएका भरतकुमार थापा यतिबेला बाग्मती नगरपालिकाको मेयरको रूपमा जनमूखी स्थानीय सरकारको जिम्मेवारी र जवाफदेहिता निर्वाहमा दत्तचित्त भै जुटेको पाईन्छ। “नगरको शिक्षा,स्वास्थ्य,बाटोघाटो जस्ता पूर्वाधार बिकासमा त अग्रणी देखिएकै छ साथै नगरभित्र दीगो फाईदा पुर्याउने प्रकारका योजना/परियोजना समेत सञ्चालित छन् जसलाई स्थानीय गौरवको योजना वा अझ प्रादेशिक गौरवको योजनाको रूपमा समेत बुझ्न सकिन्छ।” मित्र ओमबहादुर कार्कीले बताउनु भयो।

स्थानीय सागरनाथ बन परियोजना एक सफल बन परियोजनामा गनिन्छ तर बिगत केही बर्ष यता बन परियोजना क्षेत्र भित्र अतिक्रमण तथा अव्यवस्थित बसोवासको जटिल समश्या विद्यमान थियो। ठूलो संख्यामा भूमीहीन सुकुम्बासीले त्यस बन क्षेत्रमा टहरो ठड्याएर आश्रय लिएका थिए भने सुकुम्बासीको आवरणमा हुकुम्बासीको अतिक्रमण अझ चर्को थियो। यो क्षेत्रीय समश्या मात्र नभएर एक राष्ट्रिय समश्याकै रूपमा दरिई सकेको बिषय बनिसकेकै हो। पह्रारको साल अतिक्रमित बन क्षेत्र खाली गर्न प्रशासनले प्रयत्न गर्दा उत्पन्न झडपमा प्रहरीको गोली लागेर स्थानीय सुकुम्बासीको मृत्यु भएको घटना राष्टिय समाचार बनेको थियो।

मेयर थापाको सोचले समश्याको सुन्दर समाधान निकाल्यो। एकातर्फ उपयोग बिहीन झैं भएको बाग्मती किनारको नदी उकास जग्गाको दीगो उपयोग र अर्कोतर्फ अव्यवस्थित सुकुम्बासीको दीगो ब्यवस्थापन। त्यसै अलपत्र रहेको बाग्मती नदी उकास जग्गा मध्येको करिब १२१ बिगाह जग्गामा विशाल पोखरीको निर्माण तथा त्यसैसंग जोडिएको १६५ बिगाह जग्गामा सुकुम्बासीहरूको ब्यवस्थित बसोबास। यो कम्बाईण्ड-प्लान वास्तवमै गौरव गर्न लायक देखिन्छ। वास्तविक सुकुम्बासीको पहिचान गरि बाग्मती नदी उकास जग्गाको १६५ बिगाहमा चार हजार सुकुम्बासी परिवारलाई ब्यवस्थित गरिएको छ भने,संभवत: नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तालको निर्माण कार्यमा तिनै सुकुम्बासीहरूलाई रोजगार समेत उपलब्ध छ। सो तालमा माछापालन,बोटिङ्ग,स्विमिङ्ग,होटल-रेस्टुरेन्ट,रिफ्रेस सेन्टर सहित एक पर्यटकिय गन्तब्यको रूपमा बिकास गर्ने योजना रहेको मेयर थापाले बताउनु भयो। अझ निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलको संचालन पश्चात् त्यहाँ आउने जाने बिदेशी पर्यटकहरूको निम्ति समेत यसले रेस्ट-सेन्टरको रूपमा सेवा दिनसक्ने सम्भावना देखिन्छ। राज्यको समेत टाउको दुखाई बनेको यहाँको जटील सुकुम्बासी समश्याको जुन तरिकाले यहाँ ब्यवस्थापन गरिएको छ, साँच्चै नै उदाहरणीय छ।

नगरमा साना-ठूला कैयन बिकासका आयोजनाहरू अघि बढीरहेका छन् । सबै प्रयासहरूलाई यो एउटै आलेखमा समेट्न प्रायः असम्भव नै छ तथापि केही प्रयासहरूको चर्चा गर्ने जमर्को गरेको छु। “नगर भित्रको शिक्षा-प्रणालीलाई नमूना बनाउने रहरको साथ हामी खटिरहेका छौं” शिक्षा शाखाका सहजकर्ता कार्कीले बताउनु भयो। नगर भित्रका सम्पूर्ण सामूदायिक विद्यालयहरूमा मण्टेश्वरी शिक्षाको अवधारणा लागू गरेर त्यसको कार्यान्वयन शुरू गरिएको छ भने केन्द्र विद्यालयको अवधारणा बिकास गरिएको छ जसमा एउटा माध्यमिक बिद्यालयले आफ्नो पकेट एरियाको पाँचवटा बिद्यालयको अभिभावकत्व ग्रहण गर्दै तिनको ब्यवस्थापन तथा गुणस्तर अभिबृद्धिमा केन्द्र बिद्यालयलाई जवाफदेही तुल्याईएको छ। नगर भित्र रहेका कूल २५ सामुदायिक बिद्यालय मध्ये छनौट गरिएका ५ बिद्यालयहरूलाई सर्व-सुविधा सम्पन्न (Well Facilated) बिद्यालयको रूपमा बिकास गरिएको छ जसमा २५ कम्प्युटर सहितको कम्प्युटर कर्नर,पुस्तकालय,बिज्ञान प्रयोगशालाको प्रवन्धका साथै खाली समय (Off Hour)मा शिक्षकहरूलाई कम्प्युटर साक्षरता प्रदानगरी शिक्षकहरूलाई प्रविधी मैत्री बनाउने योजना संचालनमा रहेको छ। यस्तै सीटीईभिटी द्वारा मान्यताप्राप्त सिभिल इन्जिनियरिङ,इलेक्ट्रीसिटी तथा कृषि बिषयक कक्षाहरू सफलतापूर्वक सञ्चालित छन् । क्रमिक रूपमा नगर भित्रका सम्पूर्ण बिद्यालयहरूलाई सुविधा सम्पन्न तथा गुणस्तरीय शैक्षिक केन्द्रको रूपमा बिकास गर्दै लैजाने योजना भएको कार्कीले बताउनु भयो।

शंकरपुर,राजघाट,कर्मैया र ढुंग्रेखोला गरि चारवटा पूर्व गा.वि.स. समेटेर बनाईएको बाग्मती नगरपालिका को कूल जनसंख्या करिब ४५-५० हजारको हाराहारीमा रहेको छ। उर्वर भूमीले युक्त यो क्षेत्र खासगरी मकै र तरूल उत्पादनको लागि प्रशिद्ध छ। कृषि सहकारी मार्फत किसानहरूको सवलिकरणमा ध्यान केन्द्रीत गरिएको भन्दै “कम लागतमा उत्पादन,उत्पादित कृषि उपजको ब्यवस्थापन तथा कृषकले राम्रो मूल्य पाउनेगरी त्यसको बजारीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको” मेयर थापाले जानकारी दिनु भयो। “अझ हामी अर्ग्यानिक उत्पादनको बढ्दो क्रेज बुझेर “एक घर : एक कठ्ठा अर्ग्यानिक उत्पादन” को कृषि नारालाई कार्यान्वयन गर्दै बिस्तारै अर्ग्यानिक उत्पादन तर्फ नगरलाई डोर्याउने योजनामा छौं” सिर्जनशील सोचका मेयरले आफ्नो कृषि सपना सुनाए।

“लोकतन्त्रमा सबैको बिचार सुन्नुपर्छ,छलफल गर्नुपर्छ तर वहाँहरूमा त्यो स्वभाव देखिन्न। आफू र आफ्नो पार्टी नै सर्वेसर्वा हो भन्ठान्ने स्वभावले वहाँहरूलाई गाँजेको छ। म यो प्रबृत्तिको बिरोध गर्न चाहन्छु।” नेपाली काँग्रेसका बाग्मती नगर सभापति दीपक रानाभाटले यो पंक्तिकार संग नगरप्रमुख र नगरपालिकाको शैलीप्रती खरो बिरोध गरे। तर नगरपालिका द्वारा सन्चालित जनमुखी बिकास प्रयास प्रती आफ्नो र आफ्नो पार्टीको सदा साथ,सहयोग र समर्थन रहेको बताउँदै आफ्नो पार्टीले उठाएका बिकास निर्माणका कुराहरू समेत समेटिएकोले नगरको बिकास प्रयासमा चाहिँ सन्तुष्ट नै रहेको बताए।

दुई बर्ष अघीसम्म बर्षामा प्रायः हिलाम्मे हुने नगर क्षेत्रका बाटाघाटाहरूको रूपरंग नै फेरिएको छ। नगर भित्रका सबै बाटाघाटाहरू ग्राभेल्ड गरिएका छन् भने ग्राभेल्ड गरिएका सडकहरूलाई क्रमशः कालोपत्रे सडकमा स्तरोन्नती गरिंदै छ। “नगर भित्रको १९० किलोमिटर सडक ग्राभेल्ड सडकको रूपमा स्तरोन्नति सम्पन्न गरि सकेका छौं भने,६० किलोमिटर सडक त कालोपत्रे नै बनाई सकेका छौं” बाग्मती नगरपालिकाका युवा सव-इन्जिनियर सुजन बडालले सुनाए। बाँकी रहेको सम्पूर्ण ग्राभेल्ड सडकहरू समेत क्रमश: कालोपत्रे बनाउँदै लैजाने योजना रहेको बताउँदै बडालले बाग्मती नगरपालिकालाई हिलोमुक्त नगरपालिका भएको बताए।

पिकनिक स्पटको रूपमा पहिल्यै देखी नै चर्चित नूनथर क्षेत्रको वारिपट्टी कूल २४ करोडको लागतमा निर्माण कार्य अगाडि बढाईएको ‘बाग्मती फन पार्क एण्ड रिसोर्ट’ परियोजना होस् वा १५ बिगाहा क्षेत्रफलमा बिकास गर्न लागिएको “नगर-बगैँचा” परियोजना नै किन नहोस् सबै बिकास कार्यक्रमहरू जनमुखी र उत्पादनमूलक देखिन्छन् ।

हाम्रो देशकै समग्र स्थिति हेर्ने हो भनेपनी बिकास प्रयासमा समेत अवरोध गर्ने प्रवृत्ति हावी देखिन्छ। अझ यो दुई नम्बर प्रदेशमा त बिकासको लागि आएको ठूलो परिमाणको बजेट नै ब्यक्तिगत महत्वाकांक्षा र जुँगाको लडाईंको सिकार बनेर फ्रीज हुने गरेको छ। खर्च गरिएको बजेट पनि प्रत्युत्पादक क्षेत्रमा खेर गैरहेको छ। प्रदेश भरीका वडा-वडामा मन्दिर,गोसाईंथान,डिहिबार स्थान,बसघरा,हनुमानको मुर्ती जस्ता प्रत्युत्पादक निर्माणको क्षेत्रमा साह्रै ठूलो रकम बिनियोजन र खर्च भैरहेको स्थितीमा दुई नम्बर प्रदेशको मध्यभागमा रहेको बाग्मती नगरपालिकाले बिकासको एउटा नमूना प्रस्तुत गरेको छ भन्दा अत्युक्ति नहोला। अझ सबैभन्दा माथी, बिपक्षी समेतलाई सन्तुष्ट तुल्याउने प्रकारको बिकास प्रयास साँच्चै नै प्रशंसनीय छ। हाम्रा प्रदेश सरकारहरू तथा संघीय सरकारका बिकास प्रयासहरू समेत यस्तै सबैले रूचाउने प्रकारको भईदिने हो भने कत्ती सुन्दर हुन्थ्यो होला अनि मुलुक संघियतामा गएर झन् घाँडो भो भन्ठान्नेहरूलाई बाग्मती नगरपालिकाको कामले पूर्णतः गलत सावित गरिदिए झैं प्रतीत हुन्छ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार