भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गरेका छन् । विशेषगरी बसाई सरेर आएका कामदारलक्षित यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन् ।
कोरोनाभाइरसका कारण लकडाउन लागु भएपछि धेरै कामदारहरुको रोजगारी गुमेकाले सरकारले रोजगार योजना शुरु गरेका हुन्। सो योजनालाई ‘गरिब कल्याण रोजगार अभियान’ नाम दिइएको छ । यस योजना अन्तर्गत विषेश गरेर ग्रामिण क्षेत्रमा काम गर्नका लागि प्रेरित गरिने भएको छ ।
कोरोनाभाइरसले ग्रमिण क्षेत्रको महत्व र ग्रामिण क्षेत्रलाई आधार बनाउनु पर्छ भन्ने सिकाएको पनि प्रधानमन्त्री मोदीले बताए । शहरबाट गाउँ फर्केकाहरुलाई गाउमै सहयोग गर्नका लागि रोजगार योजनामार्फत् विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उनको भनाई छ ।
क्षमतावान व्यक्तिहरु गाउँमा बसेर काम गरेमा आर्थिक बृद्धिदर तिब्र गराउन पनि ठूलो सहयोग पुग्ने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे । शहरबाट गाउँ गएकाहरुलाई घरनजिकै रोजगारी दिलाउने र गाउँको विकासमा लगाउने सरकारको मुख्य प्राथमिकताको विषय भएको उनले बताए ।
प्रधानमन्त्री मोदीले ग्रामिण क्षेत्रको भौतिक विकासमा पनि सरकारले विषेश जोड दिने जानकारी गराउदै गाउँ गाउँमा इन्टरनेट पु¥याईने बताए । एजेन्सी ।






