काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा एमसीसी घुसाएपछि उत्पन्न विवादका विषयमा छलफल गर्न बसेको नेकपा सचिवालयले एमसीसी पारित गर्ने/नगर्ने विषय संसदको भएको निष्कर्ष निकालेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एमसीसी पारित गर्ने÷नगर्ने विषयमा संसदको भएको निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
एमसीसी संसदमा पेश गर्ने र संसदले गर्ने निर्णयलाई आधार मानेर अघि बढ्ने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ। आजको बैठकमा स्थायी कमिटी सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडा पनि सहभागी थिए।
बजेटमा एमसीसी घुसाएको भन्दै सरकारको आलोचना भइरहेका बेला सचिवालय बैठकमा सहभागी अर्थमन्त्री युवराज खतिवडाले संसदबाट एमसीसी पारित भएपनि लागू हुने गरी बजेटमा एमसीसी समावेश गरेको जानकारी गराएका थिए। ‘संसदबाट एमसीसी पारित भयो भने लागू गर्नका लागि बजेटमा एमसीसी समावेश गरिएको हो। अहिले बजेटमा समावेश नगर्ने र संसदबाट एमसीसी पारित भयो भने कार्यान्वयनमा समस्या आउँछ,’ बैठकमा अर्थमन्त्री खतिवडाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।’
यद्यपी संसदबाट बजेट पारित गर्नु अगाडि नै एमसीसीका विषयमा पार्टीको बैठक बसेर निर्णय गरेको बैठकले निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।






