एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जिवित र सकुशलै रहेको सीएनएनले जनाएको छ । दक्षिण कोरियाली अधिकारीलाई उदृत गर्दै सीएनएनले भनेको छ – ‘किम जोङ जिवित र सकुशलै छन् ।’
अहिले नेता किम जोङकाे स्वास्थ्य स्थिति खराब भएको र उनको मृत्युसमेत भएको खबर कतिपय सञ्चार माध्यममा आइरहेका बेला दक्षिण कोरियाले उनी सकुशलै रहेको जनाएको छ । किम जाेङ अहिले मुटुको शल्यक्रियापश्चात कोमामा रहेको पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राष्ट्रपतिका विदेश नीति सल्लाहकार मुन चङइनले किम अप्रिल १३ देखि वोन्सान क्षेत्रमा बसेको बताएका छन्। ‘किम जोङ उन जिवित र सकुशल छन्’, मुनले भने, ‘उनी अप्रिल १३ देखि वोन्सान क्षेत्रमा बस्दै आएका छन्। त्यस्तो कुनै शंकास्पद घटना पत्ता लागेको छैन।’
अप्रिल १५ मा किमका हजुरबुबाको जन्मोत्सवमा उनी उपस्थित नभएपछि विभिन्न प्रश्नहरू उठेका थिए । उत्तर कोरियाको राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार उनले अप्रिल ११ मा पोलिटब्यूरोको बैठकमा सहभागिता जनाएका थिए। त्यसपश्चात् उनी सार्वजनिक रूपमा देखा परेका छैनन् ।
केही दिनअघि जापानी मिडियाहरूले पनि किमको मुटुको शल्यक्रियापछि बेहोस अवस्थामा रहेको जनाएका थियाे । किमको चिकित्सकीय टोलीले चीनसँग सल्लाह र सहयोग मागेपछि चीन विशेषज्ञ टोली आवश्यक औषधी पठाएको समेत समाचाहरू बाहिरिएकाे थियाे ।
हङकङ स्याटेलाइट टेलिभिजन (एचकेएसटीवी)ले भने विश्वस्त स्रोतकाे दाबी भन्दै उत्तर कोरियाली शासक किमकाे ३६ बर्षको उमेरमा नै मृत्यु भइसकेको बताएकाे छ । तर वास्तविकता भने अझै खुल्न सकेको छैन ।






