लुम्बिनी । पुर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्रको रुपमा स्थापित सुनिल स्मृति गाउँपालिकाको वडा नं. ३ र ४ स्थित सुलिचौर बजार र रुइनिवाङ बजारहरुमा रहेको मासु पसल र एग्रोभेटहरुमा अनुगमन भएको छ ।
रोल्पा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पदम बहादुर डाँगीको नेतृत्वमा जिल्ला भेटेरीनरी कार्यालय प्रमुख डा. शंकर न्यौपाने, इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी नायब निरीक्षक बिनोद जिसि, नगर प्रहरी चेतमान बिष्टको टोलीले अनुमगन गरेका हुन् । अनुगमनका क्रममा वडा नं. ३ का अध्यक्ष दुर्गाबहादुर बिष्ट, उज्यालो नेटवर्कका लुम्बिनी प्रदेश कार्यालय प्रमुख दिपक बिक, रेडियो सभ्यता सुलिचौरका प्रस्तोता भरत विश्वकर्मा लगायतको पनि उपस्थिति थियो ।


एक दर्जनभन्दा बढी मासुपसल र एग्रोभेटहरुमा अनुगमन गरिरहँदा रुइनिवाङ्को एउटा मासुपसबाट एकपाउ जति सडेको मासु बरामद भएको छ । त्यस्तै सुलिचौर बजारमा रहेको एग्रोभेट सेन्टरमा म्याद नाघेको अनुमानित तिनहजार बराबरको तरकारीहरुमा प्रयोग गरिने बिषादी बरामद भएको छ । सडेको मासु र म्याद नाघेको बिषादीलाई इलाका प्रहरी सुलिचौरले खाल्डो खनी डिस्पोजन गरेको छ ।
अनुगमन पश्चात डा. शंकर न्यौपानेले सम्पुर्ण मासु व्यवसायीहरुलार्इ आफ्नो व्यवसायीलाई दर्ता गरी सञ्चालन गर्न निर्देशन दिए । यसका साथै पसलहरुमा सरसफाई कायम राख्न बासी र कुहिएको मासु नबेच्न समेत उनले आवश्यक निर्देशन दिए ।
यसका साथै साथै स्थानीय उत्पादन लोकल कुखुरा, राँगा, भैंसी, खसी, हाँसको मासुलाई प्राथमिकता दिन समेत उनले आग्रह गरे ।






