हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताका विषयलाई सरकारसम्म पु¥याउने काम पत्रकारको भएकाले पत्रकार जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको छ ।
कृष्ण सेन ईच्छुकको २२औँ स्मृति दिवसका प्रेस सेन्टर नेपाल मकवानपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उनले पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्नेमा जोड दिए । “पत्रकारले खबरदारी र सचेत गराउने काम गरेमा समाजमा सुशासन कायम रहन्छ”, उनले भने ।
उनले सरकार र नेतृत्वले आलोचना सहने क्षमता राख्नुपर्ने धारणा पनि राख्नुभयो । उनले सञ्चार क्षेत्रसम्बन्धी नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै त्यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने बताए ।
कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकसमन्त्री युवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं केन्द्रीय ईन्चार्ज महेश्वर दाहालको विशेष आतिथ्यता थियो ।
सो अवसरमा अग्रज पत्रकारहरु महेन्द्र श्रेष्ठ, सम्झना कार्की, राममणि दाहाल, रामकुमार एलन, भानुभक्त आचार्य, कृष्णराम परियार, सुवर्णलाल श्रेष्ठ, कलमचन्द्र सुमन र मोहनमान साँगामीलाई माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा रुद्रसेन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रताप बिष्टलाई, रुद्रसेन स्मृति पत्रकारिता पुरस्कार नवराज शर्मा तिमल्सिनालाई र कौशल पाण्डे जनपक्षीय राष्ट्रिय पत्रकारिता पुरस्कार महेश्वर दाहाललाई प्रदान गरिएको थियो ।
साथै, क्रियाशील पत्रकारिता पुरस्कारबाट राजन दाहाल, एमपी शर्मा, सुबाश बिडारी, सरला अधिकारी, बालकृष्ण दाहाल र प्रतिक्षा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार शिवकुमार काशी, उमेश राई, शम्भु अधिकारी र विवेक सिन्तानलाई प्रदान गरिएको थियो । सुत्केरी प्रोत्साहन बापत जनही रु पाँच हजार पत्रकारहरु रञ्जिता डङ्गोल, रुपा गुरुङ र मनिता दानीलाई प्रदान गरिएको थियो ।






