काठमाडौं । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा आएको बाढीको स्थलगत अवलोकन र अध्ययनका लागि बागमती प्रदेशसभा शिक्षा, स्वास्थ्य तथा कृषि समितिको टोली क्षतिग्रस्त क्षेत्र पुगेको छ । समितिका सभापति घनश्याम दाहालसहितको टोली सोमबार मेलम्ची पुगेर बाढीको अध्ययन गरेको हो ।
बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ निरन्तर मेलम्ची क्षेत्रमा खटिएका छन् । उनले दिएको जानकारी अनुसार आज समितिका सभापति सहितको टोलीले सो क्षेत्रको अवलोकन गरेको हो । सोही क्षेत्रबाट निर्वाचित भएका दुलालको नेतृत्वमा माओवादी केन्द्रले निरन्तर मेलम्ची बाढी र तयसबाट बच्नसक्ने उपायहरुको खोजी गर्दै काम गरिरहेको छ ।
गत १ असार र १७ साउनमा आएको बाढीले भएको क्षतिसम्बन्धि प्रतिवेदन सहितको पत्र केन्द्रीय नेतृत्वलाई बुझाइसकिएको छ । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुको बाढीप्रति ध्यानाकर्षण गराइएको थियो ।
पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभुत खानेपानी मर्मत गरी खानेपानीको आधरभुत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तिहरु स्थानन्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।
‘मेलम्ची बाढीका कारण प्रदेश सरकारका कार्यक्रम सहित समग्र क्षतिको स्थलगत अवलोकन÷अध्धययन गर्न बागमती प्रदेश सभा शिक्षा, स्वास्थ्य तथा कृषी समितिको सभापती माननीय घनश्याम दाहाल सहितको टोली आज मेलम्चीमा । समितिले समग्र मेलम्ची क्षेत्रको सुरक्षा र नवनिर्माणमा भूमिका निर्वाह गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने बिश्वाश व्यक्त गर्दछु ।’ सोमबार दुलालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।






