काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा गएराती आएको बाढीबाट ठूलो क्षति भएको छ । यसअघि १ असारमा आएको बाढीले हेलम्बु र मेलम्चीका नदी तटिय क्षेत्रका अधिकांश ठाउँ बाढीबाट प्रभावित बनेका छन् ।
सिन्धुपाल्चोकको विपत्तिमा सधैं प्रत्यक्षरुपमा जोडिने निर्वाचित प्रदेशसभा सदस्य युवराज दुलाल शरद आज बिहानैबाट प्रभावित क्षेत्रमा पुगेका छन् । दुलालका अनुसार अहिले नदीतटिय क्षेत्रमा नदीले कटान गरिरहेका छ । उनले भनेका छन्,‘मेलम्ची–चनौटे सडकखण्ड तत्काल सुचारु हुने अवस्था छैन । बिधुत आपूर्ति बन्द छ । जनजीवन अत्यासलाग्दो छ । हेलम्बु गाउँपालिकाको अधिकांश भाग, मेलम्चीका ७ र ८ तथा पाँचपोखरीका १ र २ वडाहरू सडक सञ्जालबाट टुटेका छन् ।’
हेलम्बु र मेलम्ची क्षेत्रको जन जीवन अत्यन्तै अस्तव्यस्त भएको उनले जानकारी दिए । सो क्षेत्रमा आएको बाढीले दर्जनबढी घर टहरा बगाएको छ । मेलम्चीभन्दा माथिको क्षेत्रमा बाँकी हेलम्बुको रातो पुलपनि गएराती आएको बाढीबाट क्षतिग्रस्त छ ।
बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका दुलाल लगायतको टोलीले यसअघि पनि अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेर सो क्षेत्रको बाढी पीडितको व्यवस्थापन तथा पुननिर्माणका लागि सरकारसँग माग गरेको थियो । अर्थमन्त्री शर्माले सो क्षेत्रमा सक्दो चाँडो सबै प्रयास गर्ने बताएका थिए ।
दुलालका अनुसार मेलम्ची खानेपानीको प्राविधिक टोली बाटो सञ्चालनको संभावना अध्धययन गर्न खटिएको छ । उनले भनेका छन्, ‘मेलम्ची खानेपानीको प्राविधिक टोली बाटो सञ्चालनको संभावना अध्धययन गर्न मुभ गराइसकेको छ । राष्ट्रिय विपद् प्राधिकरण एक हप्तादेखि भेमाथाङ पहिरो अध्ययनको लागि तयार छ, तर मौसमी प्रतिकुलताका कारण सकिएको छैन । आज दिनभर हामी पैदल यात्रा गरी किउल देखि मेलम्ची सम्मको स्थलगत अवस्था हेर्ने छौं र त्यसको आधारमा गर्न पर्ने सबै कामको आवश्यक पहल लिने छौं ।’
दुलाल यसअघि पनि मेलम्चीमा बाढी आउँदा आफैं सबैभन्दा पहिला त्यहाँ पुगेर निरन्तर उद्धार तथा राहतमा खटिएका थिए ।






