काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले बुधबार कलंकीसथित मेघा पार्टी प्यालेसमा बसेको स्थायी समितिबीचको बैठक अनुसार देशभर समानान्तर कमिटी विस्तारको अभियान जारी राख्ने भएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिच्ने क्रियाकलाप जारी रहेसम्म अभियान नरोक्ने कुरालाई पुनर्पुष्टि गरेको नेता भीम रावलले जानकारी दिए ।
नेपाल पक्षले गत चैत ६ र ७ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर समानान्तर चार महिने अभियान चलाउने निर्णय गरेको थियो ।
आजको छलफलमा अभियानबारे समीक्षा भएको र सफलताका साथ अगाडि बढेको निष्कर्ष निकालिएको जानकारी रावलले दिए ।
रावलले कोरोनाका कारण केही गतिविधि बन्द भए पनि अभियान भने नरोकिने बताए । उनले भने, ‘अभियानलाई बन्द गर्नेबारे सोचेका छैनौं तर अहिले यो महामारीका समयमा कतिपय गतिविधिहरू बन्द हुन सक्छन वा कम हुन सक्छन् ।’
घोषित अभियान अनुसार नेपाल पक्षले समानान्तर कमिटी निर्माण गरिरहेको छ।






