भैरवहा । सनेपालमा कोरोना भाइरस संक्रमित फेला परे भन्ने खबर सार्वजनिक भइरहँदा नेपाली समाजको यथार्थ चित्र सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक भइरहेका थिए ।
सोही चित्रणमध्येको एक थियो–कोरोना संक्रमित बिरामीले आफन्तकै सहयोग नपाएको गुनासो ।
देशका विभिन्न ठाउँमा कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्स चालकले अस्पताल पुुर्याउन नमानेको, आफन्तले निजी गाडीमा पुर्याउन परेको लगायतका खबरहरु आएका थिए । यसैबीच जेसीआई सिद्धार्थ नेपाल (सिद्धार्थ जेसीज) वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी भने कोरोना भाइरस संक्रमितको सेवामा लागिपरेका छन् ।
कोरोनाबाट संक्रमित बिरामीहरुले एम्बुलेन्स तथा अन्य सवारीसाधन नपाएर घरमै ज्यान गुमाउनुपर्ने अवस्था देखेपछि आफ्नै नीजि सवारीसाधनलाई कोभिड एम्बुलेन्स रुपमा प्रयोग गर्दै उनी मानवीय सेवामा लागिपरेका हुन् ।
कोरोना संक्रमितमध्ये कतिपय बिरामीलाई आफ्नै परिवारले समेत गाडीमा राखेर अस्पताल नपुुर्याएपछि आफू चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै उनले सेवा दिदै आएका छन् । भण्डारीले आफ्नो गाडीमा कोरोना संक्रमितलाई बोकेर आफै गाडी चलाएर अस्पताल पुर्याउने गरेका छन् । उनले आफ्नो गाडिलाई भण्डारी कोभिड एम्बुलेन्सको नाम दिएका छन् ।
उनले उक्त गाडीमार्फत हालसम्म झण्डै डेढ दर्जन कोरोना संक्रमितलाई अस्पताल पु¥याएका छन् । अस्पताल पु¥याएकामध्ये दुई जनालाई भने बचाउन नसकिएको भण्डारीको भनाइ छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस समुदायस्तरमा फैलिएपछि एम्बुलेन्स र अस्पतालको अभावमा कतिपय संक्रमितले घरमै ज्यान गुमाउनु परेको छ । सुरुमा भैरहवा आसपासका कोरोना संक्रमितलाई बोकेर अस्पताल पु¥याएका भण्डारीले अहिले भने बुटवलसम्म पनि सेवा दिदै आएका छन् ।
‘कोरोना भाइरस सर्ने डरले आफ्नै परिवार र एम्बुलेन्सले समेत अस्पताल लैजान डराएपछि आफूूले आत्मबल बलियो बनाएर बिरामीको सेवामा लागेको हँु’, भण्डारी उज्यालो नेटवर्कसँगले भने, ‘अस्पताल पुुर्याएर उपचार पश्चात घर आएर फोन गर्दै धन्यवाद दिदा खुसीको कुनै सीमा छैन्, यसले थप आत्मबल बलियो बनाएको महसुस गरेको छ ।’


कोरोना भाइरस लागेका बिरामीको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रातदिन खटेजस्तै भण्डारी पनि रातदिन मानवीय सेवामा खटेका छन् । ‘यो बेला कोरोना संक्रमितलाई माया, सद्भाव र करुणा चाहिएको छ, हामी जस्ता युवाहरुले कोरोना लागेका व्यक्तिलाई माया र सद्भाव बाड्न सकियो भने उनीहरुको आत्मबल बलियो भएर छिट्टै कोरोना जित्न सफल हुन्छन्’, उनले भने ।
उनले कोरोनाको डरले आफलाई एक रत्ति पनि नछोएको बताए ।
कोरोना संक्रमण देखिएपछि आफ्नै परिवारका सदस्यदेखि समाजले समेत कोरोना संक्रमितलाई माया र सकारात्मक व्यवहार नगरेको अवस्थामा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष भण्डारीले मानवीय सेवाको भाव जागेर सेवा गर्ने गरेको बताए ।
‘मानव सेवा जीवनको सर्वोत्तम कार्य’
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको मुलमन्त्रलाई आत्मसाथ गर्दै मानवीय सेवामा लागेको भण्डारीको भनाइ छ । भण्डारी सिद्धार्थ जेसीजको अध्यक्ष हुनु पहिलेदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य समेत हुन् ।
विगत डेढ महिनादेखि कोरोना भाइरसबाट संक्रमित भइ एम्बुलेन्सको सेवा पाउन नसकी हस्पिटल पुग्न नसकेका थुप्रै बिरामीहरुको सेवामा उनी व्यस्त छन् । उनले सामाजिक संजाल फेसबुकमा थुप्रै पोस्टहरु राख्दै आफूू चढ्ने गाडीलाई कोभिड एम्बुलेन्सको प्रयोग गरिएको बताएका छन् ।
भण्डारीको कार्यलाई धेरैले प्रशंसा पनि गरेका छन् ।
भण्डारीको प्रशसंनीय कार्यले सामाजिक उत्तरदायित्वमा लाग्न अरुलाई पनि प्रेरणा मिल्ने सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरी बताउँछन् । एम्बुलेन्सले कोरोना संक्रमित विरामी बोक्न नमानेको बेला जोखिम मोलेर भए पनि विरामीलाई अस्पताल पुुर्याउने भण्डारीको कार्य राम्रो भएको ठकुरीको भनाइ छ ।
उनले सुरुमा जेसीआई सिद्धार्थ नेपाल वर्ष २००६ का अध्यक्ष ओम कुमार श्रेष्ठलाई अस्पताल पुुर्याएका थिए । उनलाई अस्पताल लगेर उपचार गरी निको भएपछि अहिले श्रेष्ठले साथ दिएका छन् । श्रेष्ठको हौसला र प्रेरणाले आफु उक्त कार्यमा निरन्तर लागेको बताए ।
श्रेष्ठ कोरोना संक्रमणबाट मुक्त भएका छन् । श्रेष्ठ पनि सामाजिक कार्यमा निरन्तर लागेका व्यक्ति हुन् ।






