नुवाकोट । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी अभियानलाई अत्यन्तै व्यवस्थित र आक्रामक बनाउँदै यस क्षेत्रका सबै ४५ वटै वडामा एकैसाथ ‘ऐतिहासिक घरदैलो तथा जनभेटघाट अभियान’ शुभारम्भ गरेको छ।
बिहानैदेखि पार्टीका झण्डा, चुनाव चिह्न ‘तारा’ अंकित सामग्री र उत्साहले भरिएका हजारौँ नेता, कार्यकर्ता एवं समर्थकहरू मतदाताको घरदैलोमा पुगेपछि गाउँदेखि नगरसम्मको वातावरण पूर्ण रूपमा चुनावी रौनकमा बदलिएको छ।
“हामी विधि मान्छौँ, अरूले उल्लंघन गरे”: उम्मेदवार हितबहादुर तामाङ
दुप्चेश्वरबाट विशेष अभियानको कमान्ड सम्हाल्दै नेकपाका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हितबहादुर तामाङले आफ्नो पार्टी सधैँ विधिको शासन र निर्वाचन आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
मतदाताहरूसँगको आत्मीय संवादका क्रममा नेता तामाङले भन्नुभयो: “हामीले निर्वाचन आयोगले तोकेको समयसीमा र परिधिलाई पूर्ण रूपमा सम्मान गरेका छौँ। अन्य कतिपय दलका उम्मेदवारहरूले आचारसंहिताको धज्जी उडाउँदै समयअगावै भड्किलो प्रचारप्रसार गरे पनि हामीले धैर्यता कायम राख्यौँ। आजबाट विधिवत रूपमा हामी जनताको न्यायको अदालत (घरदैलो) मा आएका छौँ। निर्वाचन जित्नु मात्र ठुलो कुरा होइन, लोकतान्त्रिक मूल्य-मान्यता र अनुशासनको पालना गर्नु मुख्य विषय हो।”
४५ वटै वडामा एकैसाथ परिचालन: राधिका तामाङको सक्रियता
नेकपाले आफ्नो बलियो सांगठनिक संरचना प्रदर्शन गर्दै क्षेत्र नम्बर १ का सातै पालिकाका ४५ वटै वडामा कार्ययोजनासहित टोली परिचालन गरेको छ। बागमती प्रदेश सभा सदस्य एवं नेकपा नेतृ राधिका तामाङका अनुसार घरदैलोको मुख्य उद्देश्य भड्किलो प्रचारभन्दा पनि स्थानीय विकासका एजेन्डा, अधुरा योजनाको पूर्णता र जनताका प्रत्यक्ष समस्या सुन्नु रहेको छ। प्रत्येक वडामा कुनै पनि घर नछुट्ने गरी स्थानीय कमान्डर र युवा दस्तालाई खटाइएको छ, जसले गर्दा मतदातामा ठुलो उत्साह थपिएको छ।
विकासका योजना र जनलहर
घरदैलोका क्रममा मतदाताहरूले मुख्य गरी सडक पूर्वाधार, कृषिको आधुनिकीकरण र स्वास्थ्य सेवामा सुधारको माग राखेका छन्। २०७४ सालको निर्वाचनपछि नुवाकोटको मुहार फेर्न सफल हुनुभएका इमानदार नेता तामाङले विगतका उपलब्धिहरू सुनाउँदै बाँकी रहेका गौरवका आयोजनाहरूलाई आगामी कार्यकालमा पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दुप्चेश्वरबाट विशेष अभियानको छलाङ
नेकपा दुप्चेश्वर निर्वाचन परिचालन समितिका संयोजक दीपक विश्वकर्माका अनुसार आज दुप्चेश्वरको बालकुमारी, काम्चोक, निगाले, जिम्नाङ्ग, सानोगल्फु, पुरगाउँ, नयाँ छेपार, लुकिली, बेतिनी र हुङ्गलगायतका क्षेत्रमा घरदैलो भव्य रूपमा सम्पन्न भएको छ। बाँकी रहेका गाउँहरूमा भोलि पनि यो अभियानलाई थप तीव्रताका साथ निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो।
पञ्चकन्या, सूर्यगढी लगायतका अन्य पालिकाहरूमा पनि उत्तिकै उत्साहका साथ घरदैलो भइरहेको छ। निर्वाचन आयोगले तोकेकै समयमा शालीन र सभ्य ढङ्गले प्रचार सुरु गरेको भन्दै सचेत मतदाताहरूले नेकपा र हितबहादुर तामाङको पक्षमा आफ्नो समर्थन रहने संकेत गरेका छन्।






