वन उपभोक्ता समितिकै अध्यक्षको मिलेमतोमा सिरहामा रातारात वन मासेर ग्राभेल उत्खनन

सिराहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. १० स्थित चुरे चौफाल सातपत्रे सामुदायिक वनबाट ग्राभेल उत्खनन गरिएको पाइएको छ । गैरकानुनी रुपमा रातभर वन मासेर उत्खनन् गर्ने कार्यमा सघाइरहेका पात्र हुन्, देवकुमार तामाङ । जो वन उपभोक्ता समितिका अध्यक्षको जिम्मेवारीमा छन् । आफ्नो सम्पूर्ण शक्ति लगाएर वन र त्यस क्षेत्रको सुरक्षामा लाग्नुपर्ने अध्यक्ष देवकुमार भने वन मास्ने काममा लागेको खुलेको छ ।

संघीय सरकारको बजेटमा धर्मपुर–चोहर्वा–देवीपुर–विष्णुपुर २० किलोमिटर सडकको निर्माण कार्य गरिरहेको ब्रदर्श कन्स्ट्रक्सनले शुक्रबार राति वनमा उत्खनन गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन् । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वा बजारदेखि वडा नम्बर १० धरमपुर घुर्मीघाटसम्म ७ किलोमिटर सडक करिब १८ करोडको लागतमा निर्माण भइरहेको छ । तर सडक निर्माणमा चाहिने ढुंगा, गिट्टी, माटो तथा बालुवा नियमविपरित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार तामाङ, वन कर्मचारी र प्रहरी प्रशासनकै मिलेमत्तोमा उत्खनन् गरिएको छ ।

स्थानीय भीमबहादुर थापाका अनुसार रातिको समयमा ठेकेदार कम्पनीले जीसेबी लगाएर वनका करिब ७० वटा सालका रूख ढालेर त्यहाँबाट ग्राभेल उत्खनन गरेको हो । प्राप्त सुचनाअनुसार सालका रुख ढालेर ग्राभेल उत्खनन् गर्ने सम्पूर्ण कामको साक्षी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवकुमार तामाङ नै छन् ।

स्थानीयले यस सम्बन्धमा वन कार्यालयका कर्मचारीलाई समेत जानकारी गराएका छन्, तर वनका कर्मचारी समेत कानमा तेल हालेर बसेको स्थानीयको आरोप छ । धमाधम रुख ढालेर ग्राभेल उत्खनन् गरिरहेको डोजर भने स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले आफैँ अगाडि बढेर अनुसन्धान गर्न भने नखोजेको स्थानीयको आरोप छ । स्थानीयको आरोपलाई बल पुर्याउने गरी इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह भन्छन्, ‘जेसीबी अहिले प्रहरी नियन्त्रणमा छ र आवश्यक कारबाहीका लागि गोलबजार नगरपालिकालाई बुझाउने तयारी छ ।’

सो आयोजना निर्माणको जिम्मा पाएको ब्रदर्श कन्स्ट्रक्सनसँगको मिलेमतोमा अध्यक्ष देवकुमारले यस्तो गैरकानुनी काम गरेको स्थानीयको भनाई छ । एकजना स्थानीय भन्छन्, ‘सीमित पैसाको लोभमा वन जोगाउनुपर्ने जिम्मेवारीमा रहेका अध्यक्षले नै यस्तो काम गरेको हुनुपर्छ ।’

यी सबै गतिविधिपछि स्थानीयहरूले चुरे दोहन बन्द गर्न र उत्खनन् गराउने सामुदायिक वनका अध्यक्ष देवकुमार तामाङमाथि कारबाही गर्न माग गर्दै वडा कार्यालयमा सामुहिक उजुरी दिएका छन् । वडा नं. १० का अध्यक्ष उपेन्द्र मुखियाले भने, ‘स्थानीयहरूलाई डराई धम्क्याई वननै मासेर ग्राभेल उत्खनन् गरेको स्थलगत अनुगमनमा जाँदा देखिएको छ । यो वडावासीको लागि अत्यन्तै गम्भीर बिषय हो । स्थानीयले दिएको निवेदनको आधारमा सम्बन्धित निकायलाई दोषी माथि छानबिन गरी कडा कारबाही गर्न पत्र पठाइदिएको छु ।’

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार