काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राणघातक रोग क्यान्सरसँग लडिरहेकी गायिका इन्दिरा गोलेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
नेपाल क्यान्सर अस्पताल हरिसिद्ध ललितपुरमा उपचाररत गायिका गोलेको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले बिहीबार बिहान जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डसँगै पूर्वसभामुख अग्निप्रसाद सापकोटा, पूर्वमन्त्री एवं सांसद सुर्यमान दोङ लालध्वज, कोञ्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिंतान, माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटिका अध्यक्ष अविरल जिम्बा लगायत अस्पताल पुगेका थिए ।
उपचारमा संलग्न चिकित्सकसँग गायिका गोलेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उपचाररत गायिका गोलेलाई अध्यक्ष प्रचण्डले भने, ‘धैर्य गर्नुहोला, हामी तपाईको साथमा छौँ ।’
अध्यक्ष प्रचण्डले गायिका गोलेको उपचारको लागि आवश्यक समन्वय र सहयोगका लागि आफू र आफ्नो पार्टी तयार रहेको समेत वचन दिएका छन् ।






