काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक इन्सपेक्टर वाङ्गेल लामाले बर्दीको आडमा दादागिरी देखाएको खुलेको छ ।
तामाङ चलचित्र क्षेत्रका महानायकको रुपमा चिनिँदै आएका अमिर दोङ अभिनित म्युजिक भिडिओ ‘बौद्ध नयाँ बस्ती’मा अनुमतिबिना प्रहरीको बर्दी प्रयोग भएको विषयलाई लिएर इन्सपेक्टर वाङ्गेलले अभद्र व्यवहार गर्दै दुव्र्यवहार गरेका हुन् । इन्सपेक्टर वाङगेलले आफू कार्यरत कार्यालयमा बोलाएर उनलाई २ घण्टासम्म केरकार गरी अपशब्द समेत बोलेर थर्काएका थिए ।
यति मात्रै होइन, इन्सपेक्टर वाङ्गेलले केही ‘अमुक व्यक्तिहरु’को नाम समेत लिएर अमिरलाई थर्काएका थिए । महानायक दोङले सामाजिक संजाल मार्फत आफुलाई प्रहरीले दुव्र्यवहार गरेको जानकारी गराएका छन् ।
उनले लेखेका छन् ‘प्रहरीले भिडियो बारे गल्ती देखाएपछि तुरुन्तै भिडिओ प्राइभेट गरेर माफी मागे तर काभ्रे जिल्ला चौरीदेउराली वडा नं.४ घर भएका इनस्पेक्टर लामाले मलाई अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरे ।’
उनले थपेका छन्, ‘मैले मेरो जीवनको उर्जाशिल समय तामाङ भाषा, कला र संस्कृतिको सम्बर्द्धन र प्रवद्र्धनमा बिताए । तामाङ भाषाको चलचित्र भनेर मैले कयौं मेरा सपनाहरु बन्धकी राखेको छु । सायद त्यसैको नतिजा होला भिडियोको स्पष्टिकरण दिन प्रहरी परिसर भद्रकालीमा पुग्दा काभ्रे चौरीदेउराली–४ ठेगना भएको एक जना वाङगेल लामा नामको प्रहरी निरीक्षक( ईन्सपेक्टर) ले जुन खालको व्यबहार बोली प्रयोग गरेर मलाई अभद्र व्यबहार गर्नुभयो त्यसले साह्रै मन दुखेको छ ।’
जीवनमा पहिलो पटक प्रहरी सामु बयान दिन पुगेको दोङलाई करिव दुई घण्टा भन्दा लामो समय मोबाईल समेत नियन्त्रणमा लिएर ’गणेश लामा चिन्छस्, …………’ भन्दै मानसिक यातना समेत दिएका थिए ।
हामीले यस विषयमा कुरा गर्दा प्रहरी निरीक्षक लामाले आफूले बोलाएर चेतावनी दिएर पठाएको बताए । उनले भने, ‘गाउँ ठाउँको नेता भनेर गणेश लामा र डिबि मोक्तान चिन्छस् भनेर मैले सोधेको हुँ, अनुमतिबिना बर्दी लगाएको देखेपछि बोलाएर सम्झाएर चेतावनी दिएर पठाएको हुँ ।’
इन्सपेक्टर वाङ्गेलले थपे, ‘यसरी कुरा पत्रकार सम्म पुग्ने थाहा भएको भए मैले हिजै मुद्दा दर्ता गरेर थुनिदिन्थे, अब उनलाई एक्सन नै लिनुपर्ने देखियो ।’
गैरकानुनी ढंगले अमुख व्यक्तिको नाम लिँदै इन्सपेक्टर वाङगेलले दोङलाई अभद्र व्यवहार गरेकोबारे महानगरी प्रहरी परिसर काठमाडौंका एसपी एवं सुचना अधिकारी नवराज अधिकारीलाई सोध्दा उनले यस विषयमा आफूलाई जानकारी नभएको र जानकारी लिएर वास्तविकता बुझ्ने बताए ।






