काठमाडौं । काभ्रे जिल्ला रोशी गाउँपालिका–५ स्थित थाममा रहेको बहुचर्चित बोधिचित्त माला (थिङको माला) मा काभ्रे प्रहरीले अनावश्यक ज्यादती दिएको मालाधनी आइत सिंह थिङ र उनका परिवारले आरोप लगाएका छन् ।
आइत सिं थिङ र स्व. पुर्ण सिंह लामाको नाममा रहेको काभ्रे जिल्ला साविक सिसाखानी वडा नं. ४ को कित्ता नं. २ को जग्गामा रहेको उक्त बोधिचित्त माला सुर्य बहादुर लामालाई वार्षिक ५० लाखको दरले ५ वर्षको लागि बिक्री वितरण गर्ने सम्झौता भएको थियो । तर पनि घरधनी आइत सिंह थिङलाई सम्झौता अनुसारको पैसा लामाले नदिएपछि थिङ र तामाङबीच गत वर्षबाट विवाद सुरु भएको थियो । माला धनीकै असहमतिमा गतसाल सुर्यले प्रहरी लगाएर माला उठाएको मालाधनीको आरोप छ ।


पीडित घरधनि आइता सिंह थिङको छोरा ववि थिङका अनुसार सुर्य तामाङ नाम गरेको व्यक्तिले ‘प्रहरी प्रशासन’लाई समेत हातमा लिएर घरधनीलाई लखेटेका छन् । उनले भने, ‘हाम्रो बोधिचित्त माला सुर्य लामालाई बेच्ने सम्झौता भएको हो तर लामाले सम्झौता अनुसार हाम्रो पैसा नदिएपछि हामीले उनलाई किन माला दिने ? सम्झौता अनुसार आजसम्म तीन वर्षको १ करोड ५० लाख रकम पाउनुपर्नेमा सबै गरेर ८७ लाख मात्र पाएका छौँ बाँकी ६३ लाख र यो वर्षको ५० लाख दिएर लैजानुस भन्दा लामाले प्रहरीको डरधम्की देखाए, अहिले त घरमा प्रहरीको टोली आएर रजाईँदजाईं गरेर बसेका छन्, प्रहरी पनि उनीहरुसँगै मिलेका छन् ।’
मालाधनी आइत सिं थिङले काभ्रेका प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्काले पनि आफुलाई सुर्य लामालाई माला नदिए हतकडी लगाइदिने धम्कि दिएको उज्यालो नेटवर्कसँग बताए । ‘मैले पूरा पैसा पाएको छैन, प्रहरीले बुढेसकालमा दुख पाउलास्, खुरुक्क सम्झौता अनुसार सुर्य लामालाई माला देउ भन्छन् तर प्रहरीले सुर्यलाई हाम्रो बाँकी पैसा देउ भनेर चहि भन्दैन । यो कस्तो अन्याय हो । मेरो सम्पत्तिको पैसा नपाउँदा उल्टो मैले प्रहरीको डरले घर छाड्नु पर्ने ?’ उनको प्रश्न थियो ।
मालाधनी स्वर्गिय पुर्ण सिंह लामाको एक्लो छोरा दावा लामाले पनि सुर्य लामालाई माला नदिए दुख पाउलास् भनेर प्रहरीले आफूलाई धम्की दिएको उज्यालो नेटवर्कसँग बताए । ‘गतसाल पनि हामीलाई नसोधी त्यही कागजको सम्झौता देखाएर प्रहरी परिचालन गरि जबर्जस्ती माला लग्यो, यसपालि पनि सुर्य लामाको एकपक्षीय कुरा सुनेर मालाको बोटमा प्रहरी पठाएको छ, प्रहरी र सुर्यका केही मान्छेहरुले हाम्रो घर कब्जा गरेर बसेका छन्, हामी घरबाट विस्थापित भएका छौँ’ उनले भने ।


हामीले यस विषयमा प्रहरी नायब उपरीक्षक डिएसपी राज कुमार श्रेष्ठसँग कुरा गर्दा मालाको ठेकेदार बताउने सुर्य लामाले मालाको सुरक्षाको निम्ति प्रहरीमा निवेदन दिएकाले प्रहरी परिचालन गरेको बताए । ‘बोधिचित्त मालाको बोटको सुरक्षा गरि पाउँ’ भनेर सुर्य लामाले निवेदन दिएपछि हामीले बोटको संरक्षणको लागि प्रहरी परिचालन गरेका हौँ’ उनले भने ।
डिएसपी श्रेष्ठले माला धनीले नै टिप्न पाउने समेत बताए । उनले थपे, ‘सिपालीको मालाको बोट काटेपछि केही बहुमुल्य बोटको विषयमा हामी सजक भएका छौँ । सुरक्षाको माग गरि अरु ४/५ ठाउँबाट पनि निवेदन आएको छ, हामी सबै रुखमा सुरक्षा दिन प्रहरी परिचालन गर्छौं, तर माला टिप्ने विषयमा माला धनिसँग सहकार्य गरेर मात्र टिप्न लगाउछौं ।’ उनले भने ।
मालाको ठेकेदार भनिएका सुर्य बहादुर लामाले भने मालाधनी आइता सिंह थिङ सहितले आफुलाई ५ वर्षको लागि मालादिने सम्झौता गरेको भए पनि विभिन्न बहाना गरेर २०७९ को माला अरुलाई नै बेचेर पठाएको र हालसम्म मालाधनिलाई ९५ लाख रुपैयाँ दिएको दावी गरे । उनीसँग भएको भनिएको सम्झौताको प्रतिलिपी पठाउनका लागि उनलाई आग्रह गर्दा भने उनले पठाउन माननेन् ।
तर, रोशीको स्थानीय राजपत्रले भन्छ, ‘सम्झौताको अवधि एक वर्षभन्दा बढी अवधिको हुने छैन’
यसैबीच रोशी गाउँपालिकाले २०७६ साल चैत ०८ गते ल्याएको स्थानीय राजपत्रले भने सम्झौताको अवधि एक वर्षभन्दा बढीको नहुने स्पष्ट पारेको छ ।
रोशी गाउँपालिकाको स्थानीय राजपत्रको परिच्छेद तीन(३)को दफा ५ को उदफा १ मा सम्झौता कायम रहनेबारे व्यहोरा उल्लेख गरिएको छ । जसमा लेखिएका छ, ‘वार्षिक रुपमा बुद्धचित मालाको बिक्री वितरण शुरु गर्नुपूर्व वडा कार्यालयको रोहवरमा सम्झौता गर्नुपर्ने छ । यसरी गरिएको सम्झौता एक वर्षभन्दा बढी अवधिको हुने छैन ।’
त्यसैगरी राजपत्रकै सम्झौता कायम रहने सम्बन्धी व्यवस्थामा लेखिएको छ, ‘वार्षिक रुपमा बुद्धचित फल दानाको बिक्री वितरण शुरु गर्नु पूर्व सम्बन्धित वडा कार्यालयको रोहबरमा सम्झौता गर्नुपर्ने छ । एक वर्ष भन्दा बढी अवधिको लागि सम्झौता गरे पनि वार्षिक रुपमा दुवै पक्ष वडा कार्यालयमा आई सो वर्ष फलेको फलदानाको लागि मात्र सहजीकरण शुल्क बुझाउनु पर्ने छ ।’


राजपत्रमा उल्लिखित बुँदा हेर्दा मालाको ठेकेदार भनिएका सुर्य लामा र घरधनीबीचको सम्झौता स्वतः खारेज हुने देखिन्छ । किनकी एकातिर सम्झौताको अवधि एक वर्षभन्दा बढीको नहुने भनेर राजपत्रमा स्पष्ट लेखिएको छ, अर्कोतिर एक वर्षभन्दा बढी अवधिको भएता पनि वडा कार्यालयमा दुवै पक्ष उपस्थित भई सहजीकरण शुल्क बुझाउनुपर्ने उल्लेख छ ।
‘मालाधनीले माला दिन अस्वीकार गरेसँगै उनीहरु दुवै पक्ष मिलेर वडा कार्यालयमा जाने कुनै पनि सम्भावना नै देखिँदैन, दुवै पक्ष नगएको खण्डमा सम्झौता स्थानीय राजपत्रअनुसार स्वत खारेज हुने देखिन्छ’ अधिवक्ता गणेश कुमार शर्मा भन्छन् ।






