लहान । लहान–सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला सिँचाइको पूर्वी मूलद्वार पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटकलाई भित्र्याएर सरकारले मनाउन लागिएको पर्यटन वर्षलाई फलदायी बनाउने उद्देश्यले कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले कमला सिँचाइको पूर्वी मूलद्वारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको हो ।
“पछिल्लो समय कमला सिँचाइको पूर्वी मूलद्वारमा घुमफिर गर्नेदेखि वनभोज गर्न आउनेको सङ्ख्या बढ्दै गरेको छ”, बन्दीपुरका स्थानीय राजकुमार लामाले भन्नभुयो, “पहिलापहिला त्यहाँ खासै सर्वसाधारणको चहलपहल थिएन्, तर पर्यटकलाई आकर्षित गर्न त्यहाँ भौतिक संरचना निर्माण गरिएपछि विस्तारै चहलपहल बढ्न थालेको छ ।”
कमला नदीबाट सिँचाइ गर्न बनाइएको सिँचाइ आयोजनाको मूलद्वारमा आन्तरिक पर्यटक आउने गरेकाले त्यो स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना ल्याएको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख विनयकुमार गामीले जानकारी दिए ।
“धार्मिक स्थलकारुपमा समेत परिचित कमला नदीमा नुहाउन आउने श्रद्धालु बढ्दै गएका छन्”, प्रमुख गामीले भने । “त्यसैले सो स्थानलाई आर्थिक वर्ष २०७६÷०७७ देखि नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेका छौँ ।” यसबाट आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकसमेत आउने विश्वास लिइएको प्रमुख गामीको भनाइ छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि करीब एक किमीको दूरीमा रहेको सो क्षेत्रमा करीब रु २० लाखको लागतमा सडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरि आकर्षक घाँसको चपरी, वृक्षरोपण, रंगरोगन, रेलिङ, पर्यटक बस्ने कुर्सी चौतारा लगायतका कार्य गरिएको प्रमुख गामीले बताए । प्रमुख गामीका अनुसार चालू आर्थिक वर्षभित्र बन्दीपुरदेखि करीब एक किमी सडकलाई कालोपत्र गरिनेछ । सो स्थलमा नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजनासमेत रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । चुरेको फेदमा रमणीयस्थलका रुपमा रहेको सो स्थलमा पहाड क्षेत्र खोला, मूलगेट निर्माण गरिएको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनासँगै किसानलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारीखेती गर्न नर्सरी माइनर योजनाअन्तर्गत कुलोसमेत निर्माण गरिएको प्रमुख गामीले बताए । करिब ५०० बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रका किसानको खेतमा आठ महिनासम्म सिँचाइ पु¥याउन कुलोसमेत निर्माण गरिएको छ । यसबाट खेती गर्न असाध्यै सहयोग पुगेको किसानको कथन छ ।






