काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि स्थगित भएको हो ।
दिउँसो ४ बजे बस्ने तयभ एको बैठक स्थगित भएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ । सचिवालय सदस्य तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीले केही दिन भेटघाटका कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओली उच्च सतर्कतासहित बालुवाटारमा आइसोलेसनमा बस्ने भएकाे छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र सल्लाह नगरि गरेका मन्त्रिपरिषद निर्णयका कारण अहिले पार्टीभित्र विवाद सुरु भएको छ । पार्टी शीर्ष नेतृत्वसँग कुनै छलफल नगरि पछिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकमा ओलीले दुई राजदूत नियुक्ति गरेको सवालमा विवाद सुरु भएको हो ।
अध्यक्षद्वयबीच पार्टीभित्र देखिएको पछिल्लो विवादलाई सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो । सोहीअनुरूप आजको सचिवालय बैठक तय भएको थियो । तर, संक्रमणको कारण बैठक भने नबस्ने भएको छ ।
यसअघि पार्टी विवाद सुरु हुँदापनि कोरोना भाइरस संक्रमणको जोखिमको कारण देखाउँदै लामो समय बैठक स्थगित भएको थियो ।






