मुक्तक – १
कयौं खेल खेल्दा-खेल्दै गट्टी बिर्सिएछ
सयौं दु:ख झेल्दा-झेल्दै पट्टी बिर्सिएछ
धुरीमाथि चढ्ने दुष्ट सपनाले डसेपछि
धन लालची बन्दा-बन्दै मट्टी बिर्सिएछ !
मुक्तक – २
सयौं आँखा सयौं दृष्य र दृष्टि पनि अनेक
सयौं कृपण सयौं तृष्टि र वृष्टि पनि अनेक
सोह्रै रङ्ग सोह्रै भङ्ग वसन्तको आँचलभरि
सयौं कहर सयौं कृष्टि र श्रृष्टि पनि अनेक !
मुक्तक – ३
श्रमिकभन्दा चोर किन ठुलो भयो मान्छेलाई
आफूभन्दा देउता बढी मुलो भयो मान्छेलाई
जिवीत हुन् कि मूर्दा सबै छुट्याउन नि गाह्रो
मनभन्दा मन्दिर आज चुलो भयो मान्छेलाई ?
मुक्तक – ४
पसिनाको मूल्य मेटी तिमी धनको कुरा गर्छौ
ह्रदयको सङ्गीत मेटी तिमी तनको कुरा गर्छौ
मूर्दा बनी एकदिन पक्कै जल्दछौ चितामाथि
जीवनको खुसी मेटी तिमी मनको कुरा गर्छौ !
मुक्तक – ५
चुस्ने जति चुसिसक्यौ कुनै लाँक्रो बाँकी छैन
लुट्ने जति लुटिसक्यौ कतै फाँक्रो बाँकी छैन
जनता नि भेडाभेडी हुन् कि क्या हो सँधैभरि
चिर्ने जति चिरिसक्यौ अब काँक्रो बाँकी छैन !
मुक्तक – ६
बोधीवृक्ष कहाँ हुन्छ र, केराको त्यो थामजस्तो
विश्वास तोडे नाता पनि च्यातिएकै खामजस्तो
नचिन्नेलाई त हिरा जुहार पथ्थरको टुक्रा न हो
स्वार्थले त माया बन्छ दुई कौडीको दामजस्तो !
मुक्तक – ७
तालभित्रै तलाऊ सुक्यो तब डुङ्गा डुब्न थाल्यो
माकुरी नै जालमा पर्यो जसै बुङ्गा चुस्न थाल्यो
सिर्जनाको गीत गाउने वनचरीको देशमा आज
मानिसभित्रै मान्छे मर्यो जब ढुङ्गा पुज्न थाल्यो !
मुक्तक – ८
इन्द्रधनुषको वैँस चोरी पोखुँ पोखुँ जस्तो लाग्छ
छातीभरि माटो राखी जोखुँ जोखु् जस्तो लाग्छ
फूलजस्तै ओइलाई झर्ने जिन्दगीमा आज किन
त्यो गीत एक पसिनाकै लेखुँ लेखुँ जस्तो लाग्छ !
मुक्तक – ९
भिझ्दा कति स्वाद आउँछ छातासँग सोधी हेर
कोरिँदा किन मजा आउँछ गातासँग सोधी हेर
कहिले घाम कहिले छायाँ जीवनको बाटोभरि
लुटिँदा कति खुसी आउँछ मातासँग सोधी हेर !
मुक्तक – १०
हलिदाइले हलगोरू नार्छन् खमार भर्ने ठालु रहिछ
झोडावालले झोडा फाँड्छन् मकै हर्ने भालु रहिछ
यस्तो उर्वरा धर्तीमाथि माखेसाङ्लो कसले थाप्यो
श्रमजीवी त सँधैभरि भोक-भोकै मर्ने कालु रहिछ !