काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ मा सोनाम ल्होछार २०८२ तथा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिताको अवसरमा खेलकुद र संस्कृतिको भव्य संगम हुने भएको छ। लामाखोर समाज तेमाल–२ को आयोजनामा तथा तेमाल गाउँपालिका–२ नं. वडा कार्यालयको प्रायोजनमा कार्यक्रम सञ्चालन हुन लागेको हो।
पौष ३० गतेदेखि सुरु हुने ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिता खेलकुदको विकास, युवालाई सक्रिय बनाउने तथा आपसी सद्भाव र भाइचारा मजबुत बनाउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले पौष २७ गतेसम्म टिम दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा प्रथम हुने टिमले रु. १,२५,००० नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो, तेस्रो र चौथो हुने टिमलाई क्रमशः रु. ७५,०००, रु. ५०,००० र रु. २५,००० नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई जनही रु. ५,००० नगद पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह माघ ३ गते तेमाल–२ स्थित सिमलचौरको खेलमैदानमा आयोजना हुनेछ। सोही दिन सोनाम ल्होछार २०८२ को अवसर पारेर वृहत् सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ।
सांस्कृतिक कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा र परम्परालाई उजागर गर्ने विविध प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा गायक अमृत लामा, कमला दोङ, प्रयास दोङ,अभिषेक मोक्तान, विहिन दोङ, कोसिश थोकर, काजल तामाङ, तोप लामा, आदित्य लामा, सम्राट लामा, सृजना दोङ, निमा लामा, सृजना तामाङ, रेणु श्रेष्ठलगायत चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
वडाध्यक्ष देवराज तामाङले खेलकुद र संस्कृतिमार्फत युवालाई सकारात्मक दिशामा डोर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले भने, “तेमाल क्षेत्रका युवामा अपार प्रतिभा छ। खेलकुद र संस्कृति दुवैलाई सँगसँगै अघि बढाउँदा सामाजिक एकता थप मजबुत हुन्छ।” त्यस्तै, लामाखोर समाज तेमालका अध्यक्ष मानविर तामाङले सोनाम ल्होछार र वडा अध्यक्ष कप दुवै कार्यक्रम तेमालको पहिचान बनाउँदै लैजाने अभियान भएको बताए। “यी कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र होइनन्, सामाजिक एकता, सांस्कृतिक पहिचान र युवाको सकारात्मक भविष्य निर्माणका आधार हुन्,” उनले भने।
आयोजकले सम्पूर्ण स्थानीयवासी, खेलप्रेमी, युवायुवती तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई सोनाम ल्होछार २०८२ तथा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ लाई भव्य, सभ्य र ऐतिहासिक बनाउन सहयोग गर्न आग्रह गरेको छ। फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण उज्यालो नेटवर्क मार्फत गरिने जनाइएको छ।






