कोस्टाब्लाङ्कामा नयाँ वर्ष २०८३: मेलिना राईको विशेष प्रस्तुति सहित भव्य सांगीतिक साँझ

उज्यालो प्रतिनिधि २४ चैत्र २०८२, मंगलवार कला/साहित्य

कोस्टाब्लाङ्का — स्पेनको कोस्टाब्लाङ्कामा नेपाली नयाँ वर्ष २०८३ को सुखद अवसरमा एक भव्य सांगीतिक समारोह आयोजना हुन लागेको छ । यस विशेष कार्यक्रममा नेपाली संगीत जगतकी अत्यन्तै प्रतिभाशाली र लोकप्रिय गायिका मेलिना राई मुख्य आकर्षणको रूपमा प्रस्तुत हुनेछिन् । आफ्नो सुमधुर स्वर, भावपूर्ण गायन शैली र लगातार सफल गीतहरूका कारण नेपाली दर्शक तथा श्रोतामाझ अमेट छाप छाड्न सफल मेलिनाको उपस्थिति यस वर्षको उत्सवको केन्द्रबिन्दु बन्ने निश्चित देखिएको छ ।

नेपाली आधुनिक, लोक–पप तथा मेलोडियस गीतहरूमा आफ्नो बेग्लै पहिचान बनाएकी गायिका मेलिना राईका “कुटुमा कुटु”, “तिम्रो मायाले बाँधेर राख” र “फुलै फुलको मौसम तिमीलाई” जस्ता गीतहरू निकै चर्चित छन् । सांगीतिक क्षेत्रमा मात्र नभई चर्चित गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ मा प्रशिक्षकको प्रभावशाली भूमिका निर्वाह गरेपछि उनको लोकप्रियता अझ व्यापक बनेको छ । प्रवासमा रहेका नेपाली समुदायमाझ उनको प्रत्यक्ष सांगीतिक प्रस्तुति सधैँ नै विशेष चासो र उत्साहको विषय बन्ने गरेको छ ।

यो विशेष कार्यक्रम नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्का र गैरआवासीय नेपाली संघ कोस्टाब्लाङ्काको संयुक्त तत्वावधानमा होटल मेलिया बेनिडोर्ममा आयोजना हुन लागेको हो । आयोजक पक्षका अनुसार गायिका राईले आफ्ना दर्शकप्रिय र चर्चित गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गरी कार्यक्रमलाई थप ऊर्जावान र अविस्मरणीय बनाउनेछिन् । यस सांगीतिक साँझमा मेलिनाको मुख्य प्रस्तुति बाहेक स्थानीय कलाकारहरूको गीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश गरिएको छ । यद्यपि, कार्यक्रमको प्रमुख आकर्षण भने गायिका राईकै मञ्चीय प्रस्तुति रहने जानकारी कार्यक्रम संयोजक स्मृति गौतमले दिएकी छन् ।

लोकप्रिय गायिकाको उपस्थितिले यस वर्षको नयाँ वर्ष कार्यक्रमलाई अझ विशेष र ओझपूर्ण बनाउने विश्वास समाजका कार्यवाहक महासचिव अशिम लोप्चनले व्यक्त गरेका छन् । उनले दर्शकहरूलाई उच्चस्तरको सांगीतिक अनुभूति गराउने लक्ष्यका साथ तयारी तीव्र पारिएको बताएका छन् । यो कार्यक्रम आगामी अप्रिल २० तारिख सोमबारका दिन राति १० बजेबाट प्रारम्भ भई बिहान ३ बजेसम्म निरन्तर सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी हुन चाहने महानुभावहरूका लागि प्रवेश शुल्क २० युरो निर्धारण गरिएको छ, जसका लागि संयोजक स्मृति गौतमसँग सम्पर्क गरी टिकट प्राप्त गर्न सकिनेछ ।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र मौलिक संगीतसँग एकाकार हुन चाहने नेपाली समुदायका लागि यो सांगीतिक उत्सव एक महत्वपूर्ण अवसरका रूपमा रहने अपेक्षा गरिएको छ । नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष केसर बहादुर थापा तथा गैरआवासीय नेपाली संघ कोस्टाब्लाङ्काका अध्यक्ष बिपिन कुमार बिसीले कोस्टाब्लाङ्का र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्ष २०८३ लाई हर्षोल्लासका साथ स्वागत गर्न हार्दिक हार्दिक अनुरोध गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार