धादिङ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाईएको छ ।
बेनीघाट रोराङ गाउँपालिकाले ११ हजार १५४ जना बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ बैशाख १७ गतेबाट ९७ खोप केन्द्र बनाएर दादुरा रुवेला खोप अभियान संचालन गरेको थियो ।उक्त खोप कार्यक्रममा ११ हजार ३९८ जना भन्दा बढी बालबालिकाहरुले खोप लगाएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताए ।
१३ वटा स्थानीय तहहरुमध्ये धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई यो रोग देखा परी महामारीको रुपमा फैलिएको थियो ।
दादुरा कै कारण बेनीघाट रोराङ गाउँपालिकामा २ जना शिशुको मृत्यु भैसकेको छ । दादुरा संक्रमणबाट मृत्यु हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका मानिसहरु रहेका थिए ।
लकडाउनको अवधिमा बेनीघाट रोराङ गाउँपालिका-६ मा दादुरा रुवेलाले १५० जना बालबालिका बिरामी परे भने दुई जनाको मृत्यु भएको थियो ।
दादुरा रोग सङ्क्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यू गर्दा र खोक्दा किटाणु हावामा फैलिएर यो रोग सर्दछ ।
बालबालिकाहरू समूहमा जम्मा हुने वा भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्ने भएकाले भीड–भाडमा नजान स्वास्थ्य कार्यालय धादिङले आग्रह समेत गरेको छ ।






