काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको हो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।
बिडारीले कोरोनाको संक्रमण रोक्नका लागि सशक्त भएर लाग्ने निर्णय भएको जानकारी दिए । सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको र यसबारे थप निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने उनले बताए । सचिव बिडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठीक भएको निष्कर्ष निकालेको जानकारी पनि दिए ।
कोरोना संक्रमण फैलन नदिन चैत ११ गतेदेखि सुरु भएको देशव्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदैछ ।






