नेपालमा मङ्गलवार साँझसम्म कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी ३१ जना प्रदेश नं १ मै रहेका छन्। त्यसमा १२ जना भारतीय नागरिक छन्।
उनीहरू सबैको विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार भैइरहेको छ।
प्रदेश नं १ मा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढदै जाँदा उनीहरूको उपचारका लागि थप अस्पतालमा उपचारको प्रबन्ध र स्वाब परीक्षणका लागि प्रयोगशाला विस्तारको तयारी भइरहेको प्रदेश सरकारका एक मन्त्रीले बताएका छन्।
उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित एक मस्जिदमा बसेका धेरै मानिसमा एकैसाथ कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो।
त्यसपछि झापा र भोजपुरमा भेटिएका सङ्क्रमितहरूको समेत विराटनगरकै कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार भइरहेको छ।
क्षमता विस्तारको विकल्प छैन
सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि थप अस्पतालको विकल्प खोजी गर्नुपरेको प्रदेश सरकारका अधिकारीहरूको भनाइ छ।
५० शय्या क्षमता भएको विराटनगरको कोभिड-१९ उपचार केन्द्र सङ्क्रमितहरूले भरिने चिन्तामाझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङ्गको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा वैकल्पिक व्यवस्था मिलाइएको १ नं प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बीबीसीलाई बताए।
मन्त्री घिमिरेका अनुसार कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको छुट्टै उपचार केन्द्र तयार भइसकेको छ।
केही दिनभित्रै थप एक सय शय्याको उपचार केन्द्र बनाइने छ।
त्यस्तै मोरङ्गको सुन्दरहरैचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा पनि ५० शय्या क्षमताको कोरोनाभाइरस उपचार केन्द्र बनाउने गरि काम थालिएको बताइएको छ।
प्रदेश १ मा कोरोनाभाइरसको सङ्क्रमण निकै देखिएपनि परीक्षणको काम सुस्त भएको भन्दै कतिपयले सरकारको आलोचना गर्दै आएका छन्।
तर सरकारी अधिकारीहरूले चाहीँ सङ्क्रमितहरूको सम्पर्कमा रहेकाहरूको खोजी र शङ्कास्पदहरूको परीक्षणलाई पनि तीव्रता दिइएको दाबी गर्दै आएका छन्।
प्रयोगशाला विस्तार
प्रदेश नं १ मा वीपी प्रतिष्ठान धरान र विराटनगरको कोशी अस्पतालमा गरि दुई ठाउँमा हुँदै आएको कोरोनाभाइरसको स्वाब परीक्षण दर बढाउन विराटनगरमै थप अर्को प्रयोगशाला स्थापना गर्न लागिएको उनीहरूले बताएका छन्।
तीनवटै प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक ५ सय जनाको स्वाब परीक्षण गर्न सकिने बताइएको छ।
थप हुने कोरोना उपचार केन्द्र र प्रयोगशालाका लागि हालैमात्र ५८ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सङ्क्रमितहरूको उपचारका खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीको मृत्यु भएमा ५० लाख रुपैयाँ दिने निर्णय प्रदेश सरकारले गरेको जनाएको छ।
तर कतिपय स्वास्थ्यकर्मीहरूले आवश्यक व्यक्तिगत सुरक्षा सामग्री समेत नपाएको गुनासो गर्दै आएका छन्।
सङ्क्रमितहरूको अवस्था सामान्य
विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ३१ जना सङ्क्रमितहरूको अवस्था सामान्य रहेको र केही दिनभित्रै उनीहरूको फेरि परीक्षण गरिने कोशी अस्पतालकी प्रमुख डा संगिता मिश्रले बताइन्।
उनले भनिन्, “पहिलो चरणमा अस्पताल भर्ना भएका सङ्क्रमितहरूको १० दिन बितिसक्यो। सबैको अवस्था सामान्य छ। अब उहाँहरूको दुईपटक स्वाब लिएर पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ। रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज गर्छौँ।” बिबिसी






