वीरगञ्ज (पर्सा), राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगञ्जको घण्टाघर परिसरमा बृहत् सरसफाइ गरेको छ । सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालन गर्न अनुरोध गरेअनुसार नै यहाँ पनि सरसफाइ गरिएको हो ।
ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताहअन्तर्गत दिनहुँजसो सरसफाइ गर्दै आइरहेको जानकारी दिए । “हामीले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउनका लागि एक दिन मात्रै नभएर वर्षभरि नै सरसफाई र वृक्षरोपणको काम गर्दै आइरहेका छौँ,” उनले भने, “सङ्घीय सरकारले राष्ट्रिय सरसफाइ सप्ताह मनाउन अनुरोध गरेपछि सरसफाइ नगर्ने त कुरै नै भएन ।”
वीरगञ्ज महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको एनके इन्टरनेसनल इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वीरगञ्जमा दिनको तीन पटकभन्दा धेरै सयम फोहोरमैला सङ्कलन गर्दै आइरहेको बताए । “हामीले नियमित रूपमा तीन पटकभन्दा धेरै समय सरसफाइकर्मी खटाएर वीरगञ्जलाई सफा बनाउने काममा खटिरहेका छौँ,” उनले , “विगतको एक दशकको तुलना वीरगञ्जको सरसफाइ निकै राम्रो भइरहेको छ ।”
वीरगञ्जको घण्टाघर सन् १९७९ फ्रेबुअरी ७ तारिखमा स्थापना भएको थियो । जापानको योनागो सहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकको कथन छ ।
Facebook Comments Box






