अशिम लोप्चन /बागलुङ — २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाभित्र अवस्थित नवउदीयमान पर्यटकीय गन्तव्य कान्छो धौलागिरी तथा GMAK (गाउँमैत्री अक्षकोष) सांस्कृतिक संग्रहालय को संयुक्त आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले यस्तो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको कार्यक्रममा आमन्त्रण पाउनु आफूहरूका लागि गौरवको विषय भएको बताएका छन्। कार्यक्रममा खबपू चंचल मगरको पनि दमदार प्रस्तुति रह्यो।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य बुद्ध जयन्तीको सन्दर्भमा भगवान बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा र करुणाको सन्देशलाई व्यवहारमा उतार्दै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनु रहेको छ। वक्ताहरूले कान्छो धौलागिरी क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्य तथा GMAK सांस्कृतिक संग्रहालय को सांस्कृतिक महत्वलाई उजागर गर्दै यी स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता सम्भावनायुक्त गन्तव्यहरूको दिगो विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै निजी क्षेत्र र समुदायबीच समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता सुक माया पुनले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन देब बहादुर थापा (डिबि) ले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका संरक्षक हेमराज आश्रमले संग्रहालयको थप व्यवस्थित व्यवस्थापनका लागि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकारमार्फत आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। यसै अवसरमा विश्वकै ठुलो २८० केजीको नगरा बजाएर कार्यक्रमको समुद्घाटन गरिएको थियो।
पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सहभागीहरूले पूर्वाधार निर्माण, प्रभावकारी प्रचार–प्रसार तथा दीर्घकालीन रणनीतिक योजनामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। साथै, स्थानीय संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै पर्यटन विकासलाई दिगोपनसँग जोड्नुपर्नेमा विशेष जोड दिइएको थियो।कार्यक्रमका क्रममा सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया तथा स्थानीय सम्भावनाबारे छलफलसमेत गरिएको थियो, जसले सहभागीहरूलाई थप उत्साहित बनाएको आयोजकले जनाएको छ।यसै क्रममा प्रमुख अतिथि तेज बहादुर थापा (तिलक) ले कान्छो धौलागिरी क्षेत्रको प्रवर्द्धनका लागि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्ण के.सी. को पहल महत्वपूर्ण रहेको उल्लेख गरे। कार्यक्रममा काठेखोला गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा (तिलक) तथा युवा समाजसेवी मिलन थापा समेत सहभागी भई स्थलको अवलोकन गरेका थिए।
नेपालमा बुद्ध जयन्ती हरेक वर्ष वैशाख पूर्णिमाका दिन धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत मनाइन्छ। यस पर्वले भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँदै विश्वभर शान्ति, सहिष्णुता र मानवताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।













