जलेश्वर (महोत्तरी), महोत्तरीको बर्दिबास नगरपालिका–४ माईस्थानमा अवस्थित पञ्चधुरा भगवतीको मन्दिरमा पूजाआर्चना गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
रमणीय र शान्त वातावरणमा पूजाआर्चना गर्नका लागि आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु यहाँ आउने क्रममा वृद्धिभएसँगै पछिल्लो समय यो पर्यटन आकर्षणको केन्द्र बन्दै गएको हो । पञ्चधुरामाईलाई शक्तिपीठको रूपमा पूजा गरिन्छ, जहाँ मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरू आउने गर्छन् ।
विशेषगरी मङ्गलबार र विशेष पर्वहरूमा पूजा गर्न आउने श्रद्धालुहरूको ठूलो भीड यहाँ लाग्ने गर्दछ । बर्दिबासको आसपासका क्षेत्रमा धार्मिक र पर्यटकीय स्थलहरूको विकास हुँदै जाँदा पञ्चधुरा मन्दिरले स्थानीय पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको पञ्चधुरा माई मन्दिर संरक्षण समितिका अध्यक्ष अक्कलबहादुर तामाङले बताए ।
धार्मिक एवं पुरातात्विक महत्वको यो मन्दिर इतिहासको कालखण्डमा यस क्षेत्रभित्र रहेको घना जङ्गलभित्र फेलापरेको थियो । स्थानीय वृद्धवृद्धा तथा बूढापाकाहरूका अनुसार त्यस बेला यस मन्दिरमा विशालकाय भएको पिपलको वृक्ष थियो । त्यस अद्भूत पिपलको विशालकाय वृक्षको फेदीमा पाँचवटा टोडका थियो र त्यस टोडकाबाट अविरल रूपमा जलधारा (पानी) बगिरहने हुँदा यस मन्दिरको नाम पनि पञ्चधारा राखिएको किंवदन्ती छ । पछि यही ‘पञ्चधारा’ अपभ्रंश हुँदै पञ्चधुरा भएको स्थानीयवासी बताउँछन् ।
पञ्चधुरा भगवतीको मन्दिर जति प्राचीन एवं पौराणिक छ, त्यत्तिकै यसको ऐतिहासिक महत्व पनि छ । श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाले १९३३ सालमा सिकार खेल्नका लागि मधेसको बहादुरगन्ज क्षेत्रको बर्दिबास–माईस्थान जङ्गलमा जाएक थिए । त्यस क्रममा उनले ‘सेतो बाघ’ देख्नुभएको थियो । उनले बन्दुकको निशाना सेतो बाघतिर लगाउँदा बाघ पञ्चधुरा मन्दिरमा विलय भएको किंवदन्ती छ ।
उपन्यासकार डायमण्डशम्शेर राणाले लेख्नुभएको चर्चित उपन्यास ‘सेतो बाघ’मा पनि यो सन्दर्भ उल्लेख गरेको पाइन्छ । स्थानीय वृद्धवृद्धा तथा बूढापाकाहरूका अनुसार श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाले पञ्चधुरा भगवतीमाथि कुदृष्टि लगाए र उनलाई माताको श्राप लाग्यो । सोही कारण उनको सर्लाही जिल्लाको पत्थरकोटमा १९३३ साल फागुन १३ गते मृत्यु भएको थियो । जुन घटना १४८ वर्षअघिको हो ।
श्री ३ जङ्गबहादुर राणाले सिकार खेल्ने क्रममा यसै मन्दिरको परिसरमा सेतो बाघ देखेपछि उनी बिरामी पर्नुभएको थियो र पछि त्यही सेतो बाघ उनको मृत्युको कारण बनेको स्थानीय वृद्धवृद्धा तथा बूढापाकाहरूको भनाइ छ ।
यस भगवती मन्दिरमा अपार तान्त्रिक शक्ति पनि भएको जनविश्वास छ । त्यही कारण यहाँ भाकल गर्ने र बलि दिनेको पनि भीड लाग्ने गर्दछ । यहाँ चिताएको मनोकामना पूरा हुने र मनमा ठानेका कार्य सिद्ध हुने विश्वासका कारण पछिल्ला केही वर्षदेखि यस मन्दिरमा बिहे, व्रतबन्ध, पूजाआजा, होमजापजस्ता धार्मिक एवं सामाजिक कार्यक्रम गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।
यस मन्दिरमा बिहे गरेमा दाम्पत्य जीवन सुखमय हुने र चाँडै सन्तति सुख मिल्ने जनविश्वासका साथ विवाह गर्ने जोडीले यस मन्दिर परिसरमा आउने गर्छन् । यसैगरी, पछिल्लो दिनमा यस मन्दिरमा पिकनिक खाने, मनोरञ्जन गर्ने तथा घुमफिर गर्नेहरूले पनि मन्दिर भरिभराउ देखिन्छ । धार्मिक, ऐतिहासिक एवं प्राचीन महत्व बोकेको यस पञ्चधुरा भगवती मन्दिर हिन्दू धर्मावलम्बीहरूको ठूलो आस्थाको केन्द्र बनेको छ ।
नेपालको पूर्वपश्चिम राजमार्गसँगै टाँसिएर रहेका कारण यस मन्दिरमा आउन तथा यहाँ पूजाआजा र दर्शन गर्न निकै सहज र सुगम हुने गरेको छ । बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले यो प्राचीन धरोहरलाई उचित प्रवर्द्धन गरी नगरको धार्मिक पर्यटनमा आशातित योगदान पुर्याउने उद्देश्यले बर्दिबास नगरपालिकाले मन्दिर परिसरमा रहेको तलाऊ सौन्दर्यकरणमा बजेट विनियोजन गरेको बताए ।
स्थानीय सुदीप कार्कीले पञ्चधुरा माई मन्दिरलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न जरुरी रहेको बताउँदै मन्दिरको सौन्दर्यकरण गरेर यसको पुरातात्विक र ऐतिहासिक पक्षलाई उजागर गर्न आवश्यक रहेको जिकिर गरे ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले यस भगवती मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने काम थालिसकिएको बताउँदै मन्दिरलाई व्यवस्थित गर्न पुरानो पोखरीको सौन्दर्यीकरण भइरहेको र पोखरीमा पानीको व्यवस्थापन पनि गरिने उल्लेख गरे । उनले धार्मिक इतिहास बोकेको यस मन्दिरलाई बृहत् रूपमा संरक्षण र व्यवस्थापन गर्न आवश्यक रहेको आवश्यकता पनि औँल्याए ।
त्यसैगरी, पञ्चधुरा माई मन्दिर संरक्षण समितिका अध्यक्ष अक्कलबहादुर तामाङले यस मन्दिरमा निरन्तर रूपमा विकासका काम भइरहेको उल्लेख गर्दै यसको व्यवस्थित विकासका लागि डिपिआर बनाउने काम पनि भइरहेको जानकारी दिए ।
इतिहासको साक्षीका रुपमा रहेको यस मन्दिरको संरक्षण र विकासका लागि स्थानीयवासीले प्रयास जारी राखेका छन् । पछिल्ला समयमा यसको संरक्षण र विकासलाई उच्च प्राथमिकतामा दिइरहेको अध्यक्ष तामाङको भनाइ छ ।






