नुवाकोट । पञ्चकन्या गाउँपालिकामा फागुन १७ गते भएको घटनालाई लिएर ‘उज्यालो नेपाल पार्टी’ का कार्यकर्ताहरूले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट “हामीमाथि अवरोध र कुटपिट भयो” भन्दै फैलाएको समाचार पूर्णतः भ्रामक र तथ्यहीन पाइएको छ । घटनाको वास्तविकता उनीहरूले दाबी गरेभन्दा ठीक उल्टो रहेको प्रमाण र प्रत्यक्षदर्शीहरूको भनाइले पुष्टि गरेको छ ।
समुन्द्रटारबाट घलेभन्ज्याङतर्फ आइरहेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) सवार गाडी र उज्यालो नेपालको टोलीबीच कुलकुले मोडमा भएको जम्काभेट थियो । बाटो साँघुरो र घुम्ती भएकाले अध्यक्ष तामाङले उनीहरूलाई बाटो छाडिदिन आफ्नो गाडी ‘ब्याक’ गर्दै हुनुहुन्थ्यो ।
तर, उज्यालो नेपालका १/२ जना कार्यकर्ताहरूले (सायद नचिनेर) उल्टै अध्यक्षमाथि अभद्र गालीगलौज र मुख छाड्ने काम गरे । सो समयमा अध्यक्ष तामाङले कुनै उत्तेजना नदेखाई उनीहरूलाई सम्झाई-बुझाई गरेर त्यहाँबाट पठाउनुभएको थियो ।
विवाद साम्य भइसकेको अवस्थामा, उज्यालो नेपालको टोली भद्रुटार फर्कने क्रममा घलेभन्ज्याङ आइपुग्दा अर्को अराजक गतिविधिमा संलग्न भयो । त्यहाँ पार्किङ गरी राखिएको नेकपाले प्रयोग गरेको गाडीको झण्डा उनीहरूले जबरजस्ती निकालेर फालेपछि स्थिति तनावपूर्ण बनेको हो । आफ्नै दलको झण्डा र गाडीमाथि भएको यो अपमान देखेपछि स्थानीय र कार्यकर्ताहरू आक्रोशित हुनु स्वाभाविक थियो । सोही अराजकताका कारण पछिल्लो परिस्थिति सिर्जना भएको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
ककनी र शिवपुरी क्षेत्रबाट करिब ३० वटा मोटरसाइकलमा आएका अपरिचित युवाहरूको समूहले मादक पदार्थ सेवन गरी उत्तेजना फैलाएका थिए । समरसिंह तामाङको नेतृत्वमा आएका ती युवाहरूले स्थानीय शान्ति खल्बल्याउन खोजेका थिए । अहिले उनीहरूले नै “हामीलाई अवरोध भयो” भन्दै फैलाएको अफवाह आफ्नो गल्ती लुकाउने र जनतामा भ्रम छर्ने एउटा ‘फेक न्यारेटिभ’ मात्र भएको स्थानीय बिमल तामाङको दाबी छ ।
यस घटनाको पछाडि नेपाल सरकारका बहालवाला सहसचिव रुद्रसिंह तामाङको अप्रत्यक्ष संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् । निजामती कर्मचारीको मर्यादा बिर्सेर आफ्नै सहोदर भाइ समरसिंहलाई अगाडि सारी राजनीतिक मुठभेडको वातावरण सिर्जना गराउनु निन्दनीय भएको स्थानीयको गुनासो छ ।
अध्यक्ष तामाङ घलेभन्ज्याङ आइपुग्दा आक्रोशित सयौं स्थानीयहरू प्रतिकारका लागि तयार थिए । तर, उहाँले “यो समय झैझगडा र प्रतिशोधको होइन, विकास र एकताको हो” भन्दै भीडलाई शान्त पार्नुभयो । अध्यक्षको यो परिपक्वता र शान्तिप्रिय स्वभावले गर्दा नै ठूलो रक्तपात र दुर्घटना टरेको छ ।
उज्यालो नेपालका कार्यकर्ताले फैलाएको हल्ला केवल सहानुभूति बटुल्ने प्रोपोगान्डा मात्र हो । वास्तविकतामा उनीहरूले नै अध्यक्षमाथि दुर्व्यवहार गर्ने र राजनीतिक झण्डा निकालेर उत्तेजना फैलाउने काम गरेका थिए ।






